१८ बैशाख २०८३, शुक्रबार
बिहीबार, आश्विन ३० १०:०३

अस्त बेस्त यातायात व्यवस्था कार्यालय डेढ महिनादेखि प्रमुखविहीन


सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीमा कर्मचारी दरबन्दी रिक्त रहेको डेढ महिना बित्दा पनि पदपूर्ति हुन सकेको छैन ।

कार्यालय प्रमुखसहित ३ जना कर्मचारी अख्तियारको फन्दामा परेको डेढ महिना बित्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी व्यवस्थापनमा चासो दिएको छैन । जसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् ।

दिनहुँ सेवाग्राहीको चाप भइरहँने यातायात व्यवस्था कार्यालय धनगढीमा कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेपिरहेका छन् । विषयगत शाखाका कर्मचारी नहुँदा कतिपय सेवाग्राही रित्तो हात फर्किने गरेका छन् भने कतिपय सेवाग्राही निकै सास्तीका बीच पनि सेवा लिन लाइनमा बस्ने गरेका छन् ।

रुट पर्मिट र नयाँ सवारी दर्ताको काम ठप्प

सेवाग्राहीबाट घुस लिएको आरोपमा कार्यालय प्रमुखसहित तीन जना कर्मचारी अख्तियारको फन्दामा परेपछि यातायात कार्यालयको सेवा प्रभावित बनेको हो ।

कर्मचारी रिक्त रहेको डेढ महिना बित्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी व्यवस्थापनका लागि चासो दिएको छैन । जसका कारण सेवाग्राही त समस्यामा छन् नै त्यहाँ कायरत अन्य कर्मचारीहरू पनि कामको चाप खेप्न बाध्य छन् ।

कार्यालयमा यातायातको रुट पर्मिट र नयाँ सवारी दर्ताको काम अझै सञ्चालनमा आउन सकेको छैन । हाल निमित्त प्रमुखको भूमिकामा रहेका छैटाैं तहका कर्मचारी नन्दलाल पाण्डले कर्मचारी पदपूर्ति गर्न प्रदेश सरकारले चासो नदिएको बताए ।

यही अवस्थामा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ छ । निमित्त कार्यालय प्रमुख पाण्डेले एउटै तहका कर्मचारीलाई निर्देशन दिन समेत गाह्रो हुने गरेको गुनासो गरे ।

प्रदेश सरकारले गरेन पहल

यातायात व्यवस्था कार्यालयमा प्रमुख लगायतका कर्मचारीहरू नहुँदा समस्या भएको सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराएको भएपनि पहल मात्र भइरहेको जनाएको छ ।

कर्मचारीहरू घूस प्रकरणमा अख्तियारको फन्दामा परेको महिनौं पुग्दा पनि कर्मचारी व्यवस्थापनका लागि सम्बन्धित निकायले चासो नदिएको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नन्दलाल पाण्डेले जानकारी दिए ।

१ जना द्वितीय श्रेणीको उपसचिव, २ जना शाखा अधिकृत, ५ जना नायब सुब्बा, २ जना कम्प्युटर अपरेटर र २ जना टाइपिष्ट नायब सुब्बा, ४ जना खरिदार, ३ जना मेकानिकल इन्जिनियर र सुपरभाइजर, २ जना लेखापाल र ४ जना कार्यालय सहयोगी गरी करिब २६ जना कर्मचारीको माग रहेको भए तापनि हाल ७ जना करारका गरी २२ जना मात्रै रहेको यातायात व्यवस्था कार्यालय धनगढीले जनाएको छ ।

तिहारअगावै कर्मचारी : प्रदेश सरकार

यातायात व्यवस्था कार्यालयको सेवा चुस्त दुरुस्त राख्न सुदूरपश्चिम प्रदेश सरकारले कुनै पहल गरेको छैन । प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयहरूमा दसैंअगावै कर्मचारी पठाउने आश्वासन प्रदेश सरकारले दिएको भए पनि हालसम्म पठाउन सकेको छैन ।

मुख्य मन्त्रीको कार्यालयसँग समन्वय भइरहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था महाशाखाका अधिकृत केशवदत्त जोशीले जानकारी दिए ।

मन्त्रालयमा पनि कर्मचारी अभाव रहेकाले तत्काल कर्मचारी पठाउने गरी छलफल भइरहेको उनले बताए । जोशीले तिहार अगावै कर्मचारी पदपूर्ति गरिने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर शाखा कार्यालयको टोलीले गत भदौमा यातायात व्यवस्था कार्यालय सेतीका निमित्त प्रमुख सहित तीनजना शाखा अधिकृतलाई १ लाख ६६ हजार घुसको रकम सहित पक्राउ गरेको थियो ।

सो कार्यालय सामान्य अवस्थामा समेत सेवाग्राहीको अत्याधिक भीड रहने कार्यालय हो । त्यसमा पनि कर्मचारी घूस प्रकरणमा मुछिएर कार्यालय प्रमुखविहीन हुँदा सेवाग्राहीलाई भने झनै समस्या भएको छ ।

Sharing is caring!

Latest News

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा धामी
बिहीबार, आश्विन ३० १०:०३
धनगढी युवा क्लव धनगढी उपमहानगरपालिका ८ले पेलान्टी सुटआउट फुटवल प्रतियोगिता गर्दै
बिहीबार, आश्विन ३० १०:०३