६ कार्तिक २०८३, बिहीबार
‘आबाट आमा २’ को जम्बो टोली कार्तिक ६ गते धनगढी आउँदै, दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने
बिहीबार, कार्तिक ६ १०:४०

‘आबाट आमा २’ को जम्बो टोली कार्तिक ६ गते धनगढी आउँदै, दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने

धनगढी। नेपाली चलचित्र ‘आबाट आमा २’ को प्रचारप्रसार तथा दर्शकको प्रतिक्रिया लिन चलचित्रको जम्बो टोली यही कार्तिक ६ गते धनगढी आउने भएको छ।यसअघि कार्तिक ५ गते धनगढी आउने कार्यक्रम तय भए पनि विविध प्राविधिक कारणले टोली एक दिनपछि मात्रै आउने भएको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।धनगढीस्थित एसटीएस सिनेमा र एसके सिनेमा हलमा आयोजना हुने भेटघाट कार्यक्रममा चलचित्रका मुख्य अभिनेता पल शाह, अभिनेत्री विपना थापा, मलिका महत तथा निर्देशक चन्द्र पन्तलगायत कलाकार र निर्माण टोलीका सदस्य सहभागी हुनेछन्।टोलीले दुवै सिनेमा हलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने, चलचित्र हेरिसकेका दर्शकको प्रतिक्रिया सुन्ने तथा चलचित्र निर्माणका अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ। लोकप्रिय कलाकारलाई आफ्नै सहरमा प्रत्यक्ष भेट्न पाउने भएपछि धनगढीका चलचित्रप्रेमीमा उत्साह थपिने अपेक्षा गरिएको छ

।पारिवारिक कथावस्तु, आमाप्रतिको माया, त्याग र भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाएको ‘आबाट आमा २’ ले दसैँको अवसरमा दर्शकमाझ चर्चा बटुलिरहेको छ। पारिवारिक संवेदना र आमासँग जोडिएका भावनात्मक पक्षलाई पर्दामा प्रस्तुत गरिएको चलचित्रले दर्शकको ध्यान आकर्षित गरिरहेको छ।सुदूरपश्चिमसँग जोडिएका निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्रमा धनगढीको परिवेशसमेत समेटिएको छ। यसले स्थानीय दर्शकका लागि चलचित्रलाई थप चासोको विषय बनाएको छ। सुदूरपश्चिमको परिवेशलाई नेपाली चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयासले यस क्षेत्रको पहिचान र कथावस्तुलाई राष्ट्रिय स्तरमा चिनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।चलचित्रको प्रचारप्रसारसँगै दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन आयोजना गरिने यो कार्यक्रमले कलाकार र दर्शकबीचको सम्बन्ध अझ नजिक बनाउने विश्वास गरिएको छ। साथै, धनगढीमा नेपाली चलचित्रप्रतिको आकर्षण बढाउन र स्थानीय सिनेमा हलमा दर्शकको सहभागिता अभिवृद्धि गर्न पनि कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।कार्तिक ६ गते हुने भेटघाट कार्यक्रममार्फत ‘आबाट आमा २’ को टोलीले सुदूरपश्चिमका दर्शकसँग चलचित्रबारे प्रत्यक्ष संवाद गर्नेछ।

Sharing is caring!

Latest News

थारु कला र संस्कृतिले भरिएको ‘अंगना मे बैठल धानि’ गीत सार्वजनिक। ( भिडियो सहित)
बिहीबार, कार्तिक ६ १०:४०