पुर्वाधारका सवै योजना एपमा तर पुग्न सकेन सवमा
कमल सावद ,धनगढी, चैत ०५-
धनगढी उपमहानगरपालिकामा लागु गरिएको पूर्वाधार व्यवस्थापन प्रणाली मार्फत उपमहानगरपालिकामा सञ्चालन हुने योजनाको विस्तृत जानकारी, गुणस्तर, योजनाको प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे ‘मोवाइल एप्स’ मार्फत जानकारी लिन सकिन्छ । भौतिक पूर्वाधार विकासको गुणस्तरबारे सम्बन्धित सरोकारवाला निकायलाई आम उपभोक्ता र नगरवासीहरुले अनलाईन तथा मोबाईल एप्स मार्फत् नै गुनासो गरिरहेका छन् । तर सञ्चालन भएको डेढ बर्ष हुन लाग्दा पनि भौतिक विकासलाई प्रविधिसँग जोडेर सुरु गरिएको आईएमएस प्रणालीमा नगरवासीहरुको सहभागीता र प्रयोकर्ताको संख्या भने न्युन रहेको छ । ‘मोवाइल एप्स’ प्रयोकर्ता र यसमा सहभागीता जनाउने नगरवासीहरुको प्रतिशत एक पनि पुग्न सकेको छैन् । पछिल्लो डेढ वर्षमा यो प्रणालीमा १ सय ५० ओटा सुझाव र गुनासो आएको धनगढी उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सुयश चन्दले बताए । यो अवधिमा तीन सय ४७ जनाले ‘मोवाइल एप्स’ डाउनलोड गरेका छन् । ‘डेढ वर्षमा यो प्रणालीमा डेढ सयभन्दा वढी गुनासा र सुझावहरु आएका छन् । हामीले सम्बन्धित गुनासाहरुलाई तत्कालै सम्बोधन गरिरहेका छौं ।’ उनले भने– ‘अनलाईन मार्फत वा मोवाईल एप्स मार्फत नै उपमहानगरपालिकासँगका गुनासाहरु जहाँ पनि राख्न सकिन्छ ।’ चन्दले गुनासाहरु आउने क्रम भने कम रहेको स्वीकार गरे । ‘मोवाईल एप्स सुरु भएपछि सुझाव र गुनासाहरु राख्न नगरपालिकामै धाउनुपर्ने बाध्यताको अन्त्य भएपनि गसनासाहरु कम आईरहेका छन उनले भने– ‘यो एप्सको सवै नगरवासीहरुलाई प्रचार प्रसार गरेर यसको प्रभावकारीता वढाउने समय आएको छ ।’
‘मोवाइल एप्स’ डाउनलोड गर्नेको संख्या यसमा सहभागीता जनाउनेको भन्दा दोब्बर भएपनि धनगढी उपमहानगरपालिकाको जनसंख्याको आधारमा शुन्य प्रतिशतकै हाराहारीमा रहेको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार धनगढी उपमहानरपालिकाको जनसंख्या एक लाख ४७ हजार सात सय ४१ रहेकोमा लेख्न र पढ्न सक्नेको संख्या ९३ हजार एक सय ४३ रहेको छ । पढ्न र लेख्न जाने जनसंख्यालाई आधार मानेर प्रतिशत निकाल्ने हो भने ‘मोवाइल एप्स’ डाउनलोड गर्ने प्रतिशत शुन्य दशमलव ३७ आउँछ । यही पढ्न र लेख्न जान्ने जनसंख्याकै हिसाबले सहभागीता जनाउनेको प्रतिशत शुन्य दशमलव १७ प्रतिशत हुन आउँछ । सेसी र ग्राम विकास तथा अनुसन्धान केन्द्रको साझेदारीमा सञ्चालित सुसासन परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामा डेढ बर्ष अघि सुरु भएको आईएमएसको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।
पूर्वाधार व्यवस्थापन प्रणालीको मोबाइल एप मार्फत योजनाका बारेमा गुनासो पनि राख्न सकिन्छ । जसका कारण जनप्रतिनिधिलाई योजनाको अनुगमन मूल्यांकन र निरीक्षण गर्न सहज हुने धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले बताए । सञ्चालित योजनाको मोबाइल एप मार्फत जानकारी, अनुगमन र निरीक्षण गर्न सकिने भएकाले यसले सुशासन कायम गर्नमा सहयोग पुग्ने विश्वास लिईएको छ । ‘यस एप्सको प्रयोग गरिदिन म सबै नगरवासीमा अनुरोध गर्दछु । योजनाको भौतिक आर्थिक प्रगतीका साथै सबैले कमेन्ट गर्न पाउने व्यवस्था समेत गरिएकाले नागरिक तहबाट समेत निगरानी र खबरदारी हुन जरुरी छ । मेयर ओडले भने– ‘यो एप्सको जति प्रयोग हुनुपथ्र्यो अवश्य पनि त्यो हुन सकेको छैन् । केही कमि कमजोरी हाम्रो पनि भएको होला तर अव सवैले यसका बारेमा जान्न जरुरी छ । आफ्नो गाउँ टोलमा भएका कामहरुमा चासो राख्न जरुरी छ । नगरपालिकाले गरे मात्रै केही हुँदै आम नगरवासीहरुले पनि हामी सवै जन प्रतिनिधिहरुलाई पटक पटक झक्झकाउनुपर्छ ।’
नगर क्षेत्रमा भइरहेका कामहरुको लागत, ठेक्का मिति, अन्तिम समय, लागतको अवस्था इन्टरनेटको माध्यमबाट अहिले सर्वसाधरणले जानकारी लिइरहेका छन् । नगरपालिका भित्रमा रहेका सबै वडामा पूर्वाधार व्यवस्थापन प्रणालीको मोबाईल एप मार्फत योजनाका बारेमा गुनासो पनि राख्न सकिने व्यवस्था गरिएको छ । उप महानगरपालिकाका भौतिक पूर्वाधार सम्बन्धीका गतिविधि ईन्टरनेटबाट हेर्न सकिने उप–महानगरपालिकाले जनाएको छ । विकास निर्माणमा भएका कमजोरी र प्रगतिका विषयमा सर्वसाधरणले पनि सुझाव दिन मिल्ने व्यवस्था गरिएको छ । तर यसमा आशा गरे अनुसारका गुनासाहरु आउन सकेका छैन् । देशभरका ७५३ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिकालाई नेपालकै पहिलो प्रणालीको रूपमा लिएर काम सुरुवात गरिएको थियो । अघिल्लो बर्षको भदौ मसान्तमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो प्रणालीको उद्घाटन गरेका थिए । तर डेढ बर्षको अवधिमा यसको प्रयोग सुरु भएपनि व्यापक रुपमा लैजान नसकिएको ग्राम विकास तथा अनुसन्धान केन्द्र सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करिया प्रधानले बताए । ‘धनगढी उपमहानगरपालिकामा सञ्चालित गरेको यो प्रणालीले स्थानीय प्रत्येक वडाका योजनाहरूको सजिलै सँगआम नागरिकले सूचना पाउने व्यवस्था छ’, तर यस प्रबिधिबारे यहाँका नागरिकहरुले पनि यसको प्रयोग गर्नका लागि जति चासो दिनुपर्ने त्यो दिएका छैनन् ।’ कार्यक्रम संयोजक करिया प्रधानले भने– ‘यसको प्रचार–प्रसारमा कमी हुँदा यहाँका नागरिकहरू भने आफूलाई यो सम्बन्धी जानकारी नभएको पनि हामीले सर्वेका क्रममा पाएका छौं । इन्टरनेटको सुविधा भएको जुनसुकै स्थानमा बसेर पनि विकास निमार्णको अवलोकन गर्न सकिने यो प्रणालीले थप व्यवस्थित गर्दै लैजाने कार्य गरिरहेका छौं । सुशासन परियोजना अन्तर्गत पूर्वाधार व्यवस्थापन प्रणाली लागू गरिएकाले अझै थप व्यवस्थित गरेर अघि बढाउने तयारीमा हामी लागेका छौ’ । धनगढी उपमहानगरपालिकाका नगरवासीहरुले नगर क्षेत्रका सवै भौतिक पूर्वाधार सम्बन्धीका गतिविधि हेर्नका लागि अनलाइन पूर्वाधार व्यवस्थापन प्रणाली ष्mक।कगकबकबल।यचनरमजबलनबमजष् लगअन गरेर अथवा गुगल प्ले स्टोरमा गएर मोबाईल एप्लीकेशनमा गएर समेत डाउनलोड गर्न सकिने उप–महानगरपालिकाले जनाएको छ । सेसी र ग्राम विकास तथा अनुसन्धान केन्द्रको साझेदारीमा विगत डेढ बर्षदेखि धनगढी उपमहानगरपालिकामा सञ्चालित सुशासन परियोजनाले यो प्रणालीको विकास गर्दै नेपालमै पहिलो पटक लागु गरिरहेको छ ।

