फिस रिसोर्टमा वाटर साइकल सञ्चालन
धनगढी, २५ चैत । धनगढीको न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कमा वाटर साइकल सञ्चालनमा आएको छ । आइतबार देखि सञ्चालनमा आएको वाटर साइकल सुदुरपश्चिममै पहिलो रहेको जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगर स्थित रिसोर्ट नयाँ व्यवस्थापन सहित पुनः सञ्चालनमा आएको हो ।वाटर साइकलिङ उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले वाटर साइकलिङले धनगढीमा आन्तरिक सँगै बाह्य पर्यटक तान्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।
सुदुरपश्चिममा अन्य कतै नभएको सेवा न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कले सञ्चालनमा ल्याएको सञ्चालक करिना अन्सारीले बताइन् ।
‘यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि थुप्रै सेवा रहेका छन्’, उनले भनिन्, ‘वातावरणका हिसाबले स्वच्छ, सफा ठाउँ भएकाले पनि पर्यटकहरुको रोजाई एडभेन्चर फिस रिसोर्ट एण्ड पार्क पर्ने छ, पर्यटकहरुले खोजेको सेवा हामीले ल्याएका छौँ, यसबाट धनगढीको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा लिएका छौँ ।’
हामीसँग मनोरञ्जनका लागि मात्रै पार्क नभएर पारिवारिक वातावरण भएको रेस्टुरेन्ट पनि रहेको छ, उनले भनिन्, ‘घुम्नका लागि मात्रै नभएर कुनै कार्यक्रम तथा पारिवारिक भेटघाटका लागीपनि उपयुक्त ठाउँ भएका कारण सबैको रोजाईमा यो पार्क पर्ने छ ।
रिसोर्टका म्यानेजर राम थापाका अनुसार सिंगल वाटर साइकलिङको तीनसय र कपल वाटर साइकलिङको पाँचसय रुपैयाँ शुल्क राखिएको छ । यसका साथै रिसोर्टमा बोटिङ, जिपलाइन्, वाटर बल लगायत मनोरन्जनका लागि थुप्रै सेवाहरु रहेको थापाले बताए ।बोटिङका लागि प्रतिव्यक्ति एकसय, जिप लाइनको दुईसय र वाटर बलको तीनसय रुपयाँ शुल्क रहेको उनले बताए ।