धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव सम्पन्न।
चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय बाल चलचित्र महोत्सव-२०८१ आइतबार सम्पन्न भएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसंगै विभुता सिटौला निर्देशित बाल चलचित्र ‘शिलाबाला’ प्रदर्शन गरिएको थियो ।
तीन दिनसम्म चलेको महोत्सवमामा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सव प्रदर्शन गरिएको थियो ।
महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासंग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासंग संवाद तथा अन्तरक्रिया गरेका थिए । बालबालिका, चलचित्रकर्मी, शिक्षक तथा अभिभावकसंग चलचित्रमा बालबालिकाका कुरा विषयक अन्तरक्रिया गरिएको थियो । महोत्सवमा स्थानीय स्तरमा निर्माण भएका बाल चलचित्र शल्यक्रिया, मौन, बेसहारा, मोबाइली छाई,र ऋतु प्रदर्शन गरिएको थियो।
महोत्सवकै क्रममा चलचित्र निर्माण कार्यशाला मेरो कथा मेरो चलचित्र शुरु गरिएको थियो । सो कार्यशालामा २१ जना बालबालिकाले प्रशिक्षण लिएका थिए ।चलचित्र सम्बन्धी फोटो प्रदर्शनी महोत्सवको आकर्षणको रुपमा रहेको थियो ।
बालबालिकालाई आफ्नो कथा भन्ने तथा हेर्ने वातावरण तयार गर्ने, चलचित्र मार्फत शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने, बालबालिकाको मनोरञ्जनको अधिकारको प्रवर्द्धन गर्ने, चलचित्र मार्फत बालबालिकाहरुको भावना, धारणा र व्यवहारमा परिस्कार ल्याउने तथा सिनेमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफल र उपलब्धिमूलक संयोजक केएल बुढाथोकीले बताए। बोर्डले गत वर्ष दाङमा पहिलो पटक बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।
