पल शाहसहित सम्पूर्ण मोहर फिल्मका टिम भोलि धनगढी आउँदै
धनगढी — चर्चित नेपाली फिल्म मोहर का मुख्य कलाकार पल शाहसहित सम्पूर्ण फिल्म टिम भोलि मङ्गलबार (साउन २७ गते) धनगढीस्थित एसटिएस सिनेमा हलमा विशेष कार्यक्रमसहित उपस्थित हुने भएका छन्।
हल प्रशासनका अनुसार, फिल्म टिमले दिउँसो १२ बजे र दिउँसो २ः३० बजे आयोजित दुई शोमा दर्शकसँगै बसेर फिल्म अवलोकन गर्नेछ। शो समाप्तिपछि कलाकार र प्राविधिक टिमले दर्शकसँग प्रत्यक्ष संवाद गर्ने, फिल्म निर्माणको अनुभव बाँड्ने र सोधिएका प्रश्नहरूको उत्तर दिने कार्यक्रम तय गरिएको छ।
दर्शकहरूले आफ्नो मनपर्ने कलाकारसँग नजिकबाट भेटघाट गर्ने, तस्बिर खिचाउने तथा हस्ताक्षर लिने अवसर पाउने भएकाले यो कार्यक्रमलाई स्मरणीय बनाउन आयोजकले सबैलाई समयमै हलमा उपस्थित रहन आग्रह गरेका छन्। एसटीएस सिनेमाका म्यानेजर योगेन्द्र नायकले भने, “यो अवसर धनगढीका फिल्मप्रेमीका लागि विशेष क्षण बन्नेछ। हामी सबैलाई स्वागत गर्न उत्साहित छौँ।”
फिल्म मोहर साउन २३ गतेदेखि देशभरका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ। रिलिजसँगै फिल्मले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ भने मुख्य कलाकार पल शाहको अभिनय र कथावस्तु प्रशंसा बटुलिरहेको छ।
