धनगढीमा हिमालय लाइफ इन्सुरेन्सद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
धनगढी — हरितालिका तीजको अवसर पारेर हिमालय लाइफ इन्सुरेन्स लिमिटेड, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सोमबार एक दिवसीय तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। धनगढीस्थित सिद्धार्थ होटलमा सम्पन्न कार्यक्रममा बीमा अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा कम्पनीका प्रदेश उपप्रमुख परमानन्द पन्त उपस्थित रहनुभएको थियो। प्रमुख अतिथि पन्तले बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउँदै ग्राहकसँगको पहुँच विस्तार गर्न अभिकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले महिला महानारीहरूको पर्व तीजले आपसी सद्भाव, संस्कृतिको संरक्षण र आत्मीयतामा जोड दिने भएकाले यस प्रकारका कार्यक्रमले पेशागत मात्र नभई सामाजिक सन्देश दिन पनि सहयोग पुग्ने धारणा राख्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि पत्रकार हरिस विकले आफूले पत्रकारिताबाट अपेक्षित व्यवसायिक सफलता हासिल गर्न नसके पनि बिमा क्षेत्रमा प्रवेश गरेपछि जीवनमा सन्तुष्टि पाएको बताए।उनले मेहनत र लगनसाथ काम गर्ने हो भने जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिने उल्लेख गर्दै युवा युवती हरुलाई पनि सकारात्मक सोचसहित अघि बढ्न आग्रह गरे।
कार्यक्रमको सञ्चालन धनगढी शाखाका प्रमुख प्रेमबहादुर एयरले गर्नुभएको थियो। उहाँले बीमा व्यवसायलाई अझ व्यवस्थित बनाउन शाखाले गरिरहेको कामको जानकारी दिनुभयो। साथै, आगामी दिनमा अभिकर्ताहरूलाई आवश्यक तालिम, प्राविधिक सहयोग र प्रोत्साहनका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तीज विशेष कार्यक्रममा धनगढी शाखा अन्तर्गत कार्यरत करिब ७० जना बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तीजलाई पर्व मात्र नभई सहकार्य, आत्मीयता र पेशागत उन्नतिको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। सहभागीहरूले तीजको भाकामा नृत्य र देउडा गीतमा खेल खेल्दै गीत कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए।
