१२ बैशाख २०८३, शनिबार
नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
शनिबार, आश्विन ११ ११:५८

नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढी । नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सम्पर्क समितिका अध्यक्ष सूर्यप्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा करिब ५० जना सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरूले जेन्जी आन्दोलनपछि देशमा उत्पन्न भएको विषम परिस्थिति औंल्याउँदै आगामी दिनमा जेनजीका मागलाई निरन्तर उठाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

भदौ २४ गतेको घटनाप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै नेपाली कांग्रेसका सदस्यहरूले सचिनु जरुरी रहेको र आगामी दिनमा अघि बढ्ने रणनीति बनाउनुपर्ने विचार व्यक्त गरिएको थियो।

कार्यक्रममा प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य धुर्वराज उपाध्यायले कांग्रेसले सुदृढ रूपमा अघि बढ्नुपर्ने बताउँदै यस्तो परिस्थितिमा सबैले कांग्रेसलाई साथ–सहयोग गर्नुपर्ने धारणा राखे।

त्यस्तै, महाधिवेशन प्रतिनिधि जगतप्रसाद जोशीले यदि नेवि संघ सशक्त भएको भए जेन्जी आन्दोलनको आवश्यकता नपर्ने भन्दै सरकारले जेनजीप्रति गरेको खेलवाडकै कारण यस्तो अवस्था सिर्जना भएको बताए। उनले आगामी दिनमा योग्य, सक्षम र सम्भावना भएका युवाहरूलाई अघि बढाएर नेवि संघलाई सबल बनाउनुपर्नेमा जोड दिए।

उपसभापति मानबहादुर कठायतले नेपाली कांग्रेसले विगतदेखि नै जेनजीजस्ता मुद्दाहरू उठान गर्दै आएको स्मरण गर्दै, अब पनि कांग्रेस सचिएन भने आगामी निर्वाचनमा चुनौती झेल्नुपर्ने बताए। उनले बीपी कोइरालाको विचार आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, सम्पर्क समितिका उपाध्यक्ष नरेश थापाले बझाङका आन्दोलनमा मारिएका दुईजनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै २४ गतेको घटनामा संरचनाहरू जलाउने, नष्ट गर्ने कार्य दुर्भाग्यपूर्ण भएको बताए। उनले यस्तो आन्दोलन जेनजीको मात्र नभई अन्य समूहको घुसपैठ पनि भएको दाबी गरे। कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको विषयमा उनले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे।

उनले कार्यकर्तालाई निराश नहुन र एकबद्ध भएर अघि बढ्न आह्वान गर्दै कांग्रेस पार्टीलाई संरक्षण गरे देश सही दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।

त्यस्तै, समितिका अध्यक्ष सूर्यप्रकाश जोशीले गाउँदेखि जिल्ला तहसम्म चुनावसम्बन्धी छलफल गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

सो कार्यक्रम सम्पर्क समितिका सचिव ज्योति प्रकाश जोशीले सञ्चालन गरेका थिए।

Sharing is caring!

Latest News

निसर्ग इन्डो नेपाल जुगेडा कपमा डा. प्रदिप मिश्रलाई विशेष सम्मान
शनिबार, आश्विन ११ ११:५८
चलचित्र ‘लालीबजार’स्थानीय कलाकारहरू लागि आवेदन खुला
शनिबार, आश्विन ११ ११:५८