सुदूरपश्चिम महोत्सवको तेस्रो दिन : जम्नेछ कलाकारहरूको बेजोड प्रस्तुति, लाइभ डेउडा प्रमुख आकर्षण
धनगढी । सुदूरपश्चिम महोत्सव–२०८२ आज तेस्रो दिनमा प्रवेश गरेको छ। सुरुवातदेखि नै दर्शकको भीड बढिरहेको महोत्सवमा आज पनि विविध सांस्कृतिक कार्यक्रम, मनोरञ्जन, प्रदर्शनी स्टल र लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।संघका अनुसार आजको सांगीतिक कार्यक्रममा देशभर चर्चित गायक महेश काफ्ले, उमाशंकर जोशी, लोकप्रिय गायीका अस्मिता अधिकारी, सुदूरपश्चिमका उदयमान प्रतिभा डिक्रा बादी र गौरी भट्टको प्रस्तुति प्रमुख आकर्षण रहनेछ।यी कलाकारले आफ्ना हिट गीतमार्फत महोत्सवको माहोल झन् उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।यसैगरी, स्थानीय स्तरमा राम्रो पहिचान बनाइसकेका कलाकार दिपेश शाही र गणेश चौतारीले पनि स्टेज तताउने कार्यक्रम समावेश गरिएको संघले जानकारी दिएको छ।संगीत, नृत्य र मनोरञ्जनले भरिएको आजको कार्यक्रमले दर्शकलाई साँझभर रमाइलो गराउने आयोजकको भनाइ छ।सांगीतिक प्रस्तुतिसँगै आज लाइभ डेउडा पनि विशेष आकर्षणका रूपमा रहेको छ। प्रदेशकै मौलिक पहिचान मानिने डेउडाले महोत्सवमा अझै रौनक थप्ने विश्वास आयोजकले व्यक्त गरेको छ।महोत्सवमा दैनिक रूपमा उपभोक्ता सामाग्री, स्थानीय उत्पादन, कृषि तथा प्रविधिसम्बन्धी स्टलहरूमा सर्वसाधारणको भीड बढ्दो छ। परिवारसहित घुम्न आएका दर्शकले मनोरञ्जनसँगै किनमेलमा पनि उत्साह देखाएका छन्।
