‘राम नाम सत्य’ ट्रेलर सार्वजनिक: एक्सन, प्रेम र सस्पेन्सले भरियो पर्दा
२७ गते सोलो रिलिज हुन लाग्यो ‘राम नाम सत्य’, ट्रेलरले देखायो सस्पेन्स, प्रेम र एक्सन
काठमाडौं – आगामी २७ गतेबाट सोलो रिलिजमा आउने नेपाली फिल्म ‘राम नाम सत्य’ को ट्रेलर आज सार्वजनिक भएको छ। काठमाडौंको वान सिनेमाज हलमा आयोजित कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यस फिल्मको ट्रेलर दर्शकसँग प्रस्तुत गरिएको हो।
सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद मुख्य आकर्षण बनेको छ। नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेमकथा, साथै विराज र सुशीलको एक्सन दृश्यले ट्रेलरलाई थप रोचक बनाएको छ। फिल्ममा नव–नायक आयुष सिंह ठकुरीको सस्पेन्सपूर्ण भूमिका दर्शकमा उत्सुकता जगाउने खालको देखिएको छ।
नव–नायिका खुशी कार्कीले नायक भट्टसँग ‘हुम्लाको सिमी’ बोलको गीतमा नृत्य गरेको दृश्य पनि चर्चामा छ। फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। बाल–कलाकारमा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट रहेका छन्।
फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको हो। यसमा उपेन्द्र शाही र स्वेता विमली लगानीकर्ता हुन् भने कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। सह–निर्माताको रुपमा तेजराज चटौत र दमन बहादुर चन्द रहेका छन्। मोती कार्की क्रियटिभ निर्माता, राजेन्द्र आचार्य लाइन प्रोड्यूसर, र काफिया फिल्मस् तथा कुवेर सिने डिष्ट्रिब्यूसन वितरण कम्पनी हुन्।
संगीतमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारी, डीओपीमा मानकृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ, सम्पादनमा बन्दे प्रसाद, व्याक ग्राउन्ड म्यूजिकमा काला चरण, कोरियोग्राफीमा सियोन श्रेष्ठ, छायांकनमा शेर बहादुर लाम, र ट्रेलर तयार गर्ने जिम्मेवारी साहिल खानले सम्हालेका छन्। आर्ट निर्देशक सुनिल राई, कास्टिङ डिरेक्टर नविन जंग शाही, विशाल विमली र पूजन लामिछाने, स्क्रिप्ट कन्सलट्यान्ट अभिमन्यू निरवी र समय थपलिया रहेका छन्।
कार्यक्रममा बोल्दै नायक विराज भट्टले भने, “यो फिल्ममा एक्सन मात्र छैन। फिल्ममा प्रेम, सस्पेन्स, पारिवारिक कथा सबै छ। दर्शकले यो फिल्मलाई मन पराउनुहुन्छ भन्ने मलाई लागेको छ।” निर्देशक माइकल चन्दले भने, “५ वर्षदेखि म यस फिल्मको कथामा काम गर्दै आएको थिएँ। दर्शकको रोजाइको फिल्म बनाउन कुनै कसर बाँकी राखेका छैनौं।”
फिल्मको ट्रेलरले दर्शकलाई सस्पेन्स, प्रेम र एक्सनको संयोगले मनोरञ्जन दिने देखाएको छ। २७ गतेदेखि नेपालभरका हलमा सोलो रिलिज हुँदै दर्शकसँग प्रत्यक्ष सम्पर्कमा आउने यो फिल्मका लागि ठूलो उत्साह देखिएको छ।
