१७ श्रावण २०८३, आईतवार
चलचित्र ‘बा : एक योद्धा’ को शीर्ष गीत दर्शकमाझ
आईतवार, श्रावण १७ १०:३४

चलचित्र ‘बा : एक योद्धा’ को शीर्ष गीत दर्शकमाझ

काठमाडौं – कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको मेसो पारेर आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको पारिवारिक चलचित्र ‘बा : एक योद्धा’ को शीर्ष गीत दर्शकमाझ ल्याइएको छ। ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले सन्तानलाई आफ्नो जन्मदिने आमाबुवा र हुर्किएको माटो नभुल्न गहिरो अपिल गरेको छ।

सञ्जीव थापाको शब्द रहेको यस गीतमा सिनेमाका निर्देशक हरि लम्साल आफैँले स्वर तथा सङ्गीत भरेका छन्। रुख र जरा अनि माटो र पानीको दृष्टान्त दिँदै गीतले सफलताको शिखरमा पुगे पनि विगत र आफन्तलाई बिर्सिए मानिसको पहिचान नै गुम्ने सन्देश बोकेको छ। सार्वजनिक भिडियोमा चलचित्रकै दृश्यहरू समावेश छन्, जहाँ मुख्य कलाकारहरू दिव्यदेव, झरना थापा र सुहाना थापा प्रस्तुत भएका छन्। सन्तान हुर्काउँदाको खुसीदेखि उनीहरू पराइ घर वा विदेशिँदा एउटा बाबुले भोग्नुपरेको एक्लोपन र पीडालाई भिडियोले मार्मिक रूपमा पस्किएको छ।

सन्तानको उज्ज्वल भविष्यका लागि एउटा बाबुले जीवनभर गर्ने सङ्घर्ष, त्याग र झेल्ने चुनौती नै यस सिनेमाको मूल कथा हो। गीतको भावले पनि सिनेमाको यही कथावस्तुलाई प्रस्ट पारेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस प्रोजेक्टमा दिव्यदेव, झरना र सुहानाका अलावा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य अभिनय छ।

नेपाली सांगीतिक क्षेत्रमा स्थापित सर्जक हरि लम्सालले यसै सिनेमाबाट फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। कथा र पटकथासमेत उनकै रहेको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। यसमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह-निर्माताका रूपमा जोडिएका छन्। शिवराम श्रेष्ठले दृश्य खिचेको सिनेमाको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले यो सिनेमालाई देशभर वितरण गर्दैछ।

Sharing is caring!

सुदूरपश्चिम गाईजात्रा सिजन–२ भदौ १७ गते, मनोज गजुरेलको विशेष प्रस्तुति रहने
आईतवार, श्रावण १७ १०:३४
चलचित्र ‘कमला मिस’को ट्रेलर सार्वजनिक
आईतवार, श्रावण १७ १०:३४