१९ श्रावण २०८३, मंगलवार
बडिमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’ को छायांकन, सुदूरपश्चिम पर्यटन प्रवर्द्धनमा जोड
सोमबार, श्रावण १८ १३:५२

बडिमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’ को छायांकन, सुदूरपश्चिम पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं। निर्देशक झरना थापाको नयाँ नेपाली चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकाबाट सुरु हुने भएको छ। चलचित्रको छायांकन आगामी साउन २९ गतेबाट शुभारम्भ हुने निर्देशक थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

थापाले बडिमालिकाबाट चलचित्रको यात्रा सुरु गर्नुको उद्देश्य सुदूरपश्चिमका लुकेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुर्‍याउनु रहेको उल्लेख गरेकी छन्। उनले नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीक बडिमालिकाबाट चलचित्र सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताएकी छन्।

उनले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडिमालिकाबाट मेरो नयाँ सिनेमा ‘ए मेरो हजुर ५’ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ।”

निर्देशक थापाका अनुसार बडिमालिका केवल धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन प्रवर्द्धन र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा हो। चलचित्रमार्फत यस क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विशेषतालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

चलचित्रको छायांकन छायाकार सञ्जय लामाले गर्नेछन् भने सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा अनमोल केसीसुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघि उनीहरूले ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृंखलामा पनि सहकार्य गरेका थिए।

प्रधानमन्त्री बन्नुअघि सुदूरपश्चिम भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहले बडिमालिकालाई “स्विट्जरल्यान्डको बाउ” भन्दै प्रशंसा गरेका थिए। त्यसयता बडिमालिका घुम्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको चर्चा हुँदै आएको छ।

Sharing is caring!

कैलालीमा खाेलामा डुबेर एक बालककाे मृत्यु
सोमबार, श्रावण १८ १३:५२
सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मन्त्री बन्न आकांक्षीको दौड तीव्र
सोमबार, श्रावण १८ १३:५२