१ भाद्र २०८३, सोमबार
तीजको मौलिकता र दाम्पत्य प्रेम बोकेको ‘पति परमेश्वर’ सार्वजनिक(भिडियो सहित)
सोमबार, भाद्र १ ०९:५५

तीजको मौलिकता र दाम्पत्य प्रेम बोकेको ‘पति परमेश्वर’ सार्वजनिक(भिडियो सहित)

धनगढी, पछिल्लो समय तीज गीतमा बढ्दो तडकभडक र मनोरञ्जनात्मक प्रस्तुतिका बीच नेपाली मौलिकता, धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको नयाँ तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक भएको छ।बद्री पङ्गेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय छ। गीतको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्। साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।तीजलाई केवल मनोरञ्जन र प्रदर्शनको पर्वका रूपमा नभई धार्मिक विश्वास, पारिवारिक आत्मीयता र दाम्पत्य सम्बन्धको पर्वका रूपमा प्रस्तुत गर्ने प्रयास ‘पति परमेश्वर’मा गरिएको निर्माण पक्षको भनाइ छ।गीतको कथावस्तु पार्वतीले भगवान् शिवको दीर्घायु तथा सुख–शान्तिको कामना गर्दै व्रत बसेको धार्मिक प्रसङ्गसँग जोडिएको छ। यही धार्मिक कथ्यलाई आधार बनाएर श्रीमान्–श्रीमतीबीचको प्रेम, विश्वास, समर्पण र आपसी समझदारीलाई गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ।निर्माण पक्षका अनुसार आधुनिकतासँगै तीजका मौलिक पक्षहरू ओझेलमा पर्दै गएको अवस्थामा गीतमार्फत नेपाली समाजमा रहेको पारिवारिक मूल्य र सम्बन्धको महत्वलाई उजागर गर्ने प्रयास गरिएको हो। श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बलियो हुँदा परिवारमा सुख, शान्ति र खुसी कायम हुने सन्देश गीतले दिन खोजेको छ।गीतका शब्द तथा सङ्गीत हेमन्ता भट्टराईले तयार पारेकी हुन्। लोकप्रिय गायक, सर्जक तथा एरेन्जर विनोद बाजुरेलीले गीतको एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ काठमाडौंस्थित मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो।गीतको भिडियोमा धार्मिक तथा सांस्कृतिक परिवेशलाई विशेष प्राथमिकता दिइएको छ। भक्तपुरको गुन्डु मन्दिर आसपास छायाङ्कन गरिएको भिडियोमा कलाकारहरूको अभिनयमार्फत तीजको धार्मिक भावना र दाम्पत्य जीवनका विभिन्न पक्षलाई प्रस्तुत गरिएको छ।हरेक वर्ष तीजको अवसर पारेर मौलिक गीत सार्वजनिक गर्दै आएको बताउँदै गायिका हेमन्ता भट्टराईले यसपटक पनि तीजको मौलिक भावनालाई आत्मसात् गर्ने प्रयास गरेको बताइन्।भट्टराईले ‘पति परमेश्वर’लाई पनि दर्शक तथा श्रोताले विगतका सिर्जनाझैँ माया र साथ दिने विश्वास व्यक्त गरेकी छन्। “सधैँझैँ यस गीतमा पनि अझ बढी माया र साथ पाउने विश्वास लिएका छौँ,” उनले भनिन्।तीज गीतको बजारमा नयाँ–नयाँ शैली र प्रस्तुतिहरू थपिँदै गएको समयमा ‘पति परमेश्वर’ले धार्मिक आस्था, दाम्पत्य प्रेम र पारिवारिक सद्भावलाई जोड दिँदै मौलिक तीज गीतको पहिचान कायम राख्ने प्रयास गरेको छ।

पति परमेश्वर

Sharing is caring!

Latest News

स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली’को उच्च माग, प्रमुख देशहरूमा रिलिज अधिकार बिक्री
सोमबार, भाद्र १ ०९:५५