अक्षरा’मा न्यान्सी खड्का : हरेक महिलाको आवाज बन्ने विश्वास
काठमाडौं । पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का आफ्नो डेब्यू फिल्म ‘१२ गाउँ’ रिलिज भएको करिब दुई वर्षपछि नयाँ चलचित्रमार्फत पर्दामा फर्किँदैछिन्। उनको दोस्रो चलचित्र ‘अक्षरा’ यही शुक्रबार (भदौ २६ गते)देखि प्रदर्शनमा आउँदैछ।
‘अक्षरा’मा न्यान्सीले विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन्। चलचित्रको कथा नै उनको पात्र वरिपरि केन्द्रित भएकाले उनी फिल्मलाई लिएर उत्साहितसँगै केही दबाबमा पनि देखिन्छिन्।
पछिल्लो समय नेपाली चलचित्रमा स्टारडमभन्दा बलियो कथा रुचाउने दर्शक बढेको भन्दै न्यान्सीले ‘अक्षरा’बाट आफू आशावादी रहेको बताएकी छन्।
“आजकाल दर्शकले स्टारडमभन्दा पनि बलियो कथा भएको फिल्म मन पराइरहनुभएको छ। त्यो हिसाबले हामीलाई पनि ठूलो आशा छ। ‘अक्षरा’को कथा बलियो छ। यो सामाजिक सन्देश बोकेको फिल्म हो। त्यसैले दर्शकले मन पराउनुहुन्छ भन्ने विश्वास छ,” उनले भनिन्।
चलचित्रको ट्रेलरमा न्यान्सीलाई माता दुर्गाको अवतारमा समेत देखाइएको छ। फिल्ममा यस्तो विम्ब प्रयोग गर्नुको कारणबारे उनले हरेक मानिसभित्र शक्ति रहेको बताइन्।
“हरेक मानिसभित्र माता दुर्गा र गणेशको रूप हुन्छ। विशेषगरी महिलाहरूले लामो समयसम्म जुन पीडा दबाएर राखेका हुन्छन्, त्यो समय आएपछि देखाउनु पनि पर्छ। यसैले फिल्ममा हामीले माता दुर्गाको अवतारलाई विम्बका रूपमा प्रयोग गरेका हौँ,” उनले भनिन्।
न्यान्सीका अनुसार ‘अक्षरा’ केवल हेर्नेभन्दा पनि महसुस गर्ने चलचित्र हो। महिलाका भावना, पीडा र चाहनालाई बुझ्न चलचित्र हेर्नुपर्ने उनको तर्क छ।
“फिल्मको कथासँग दर्शकले धेरै नै ‘रिलेट’ गर्न सक्नुहुन्छ भन्ने लाग्छ। यो एउटा अनुभव गर्ने फिल्म हो। पात्रको ‘फिलिङ्स’ र ‘इमोसन’लाई बुझ्न पनि फिल्म हेर्नुपर्छ। एउटा वाक्यमा भन्दा यो फिल्म हरेक महिलाको आवाज हो,” न्यान्सीले भनिन्।
मिस नेपालमा सहभागी हुँदासम्म आफूले अभिनेत्री बन्ने बारेमा कुनै योजना नबनाएको पनि उनले बताएकी छन्। मिस नेपाल इन्टरनेशनल बनेपछि चलचित्रमा काम गर्ने अवसरहरू आफैँ खुल्दै गएको उनको भनाइ छ।
तर, चलचित्रमा प्रवेश गर्नुअघि आफूलाई अभिनयमा परीक्षण गर्न उनले आरोहण गुरुकुलमा अभिनय प्रशिक्षण समेत लिएकी थिइन्। अभिनयमा आफ्नो क्षमता परीक्षण गरेपछि अहिले भने यही क्षेत्रमा निरन्तर अगाडि बढ्ने उनको सोच छ।
‘अक्षरा’मार्फत आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न लागेकी न्यान्सीका लागि चलचित्रको प्रदर्शन उनको अभिनय यात्राको अर्को महत्वपूर्ण परीक्षा बन्ने देखिन्छ।