२८ भाद्र २०८३, आईतवार
हरितालिका तीजको अवसरमा सशस्त्र प्रहरीद्वारा ५१ स्थानमा सरसफाइ
आईतवार, भाद्र २८ ०९:२१

हरितालिका तीजको अवसरमा सशस्त्र प्रहरीद्वारा ५१ स्थानमा सरसफाइ

कैलाली, भदौ २८
हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहतका इकाईहरूले धार्मिक तथा सार्वजनिक स्थलहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।

तीज पर्वलाई स्वच्छ, व्यवस्थित तथा मर्यादित रूपमा मनाउने वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सरसफाइ अभियानमा सशस्त्र प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। पर्वका अवसरमा धार्मिक स्थलहरूमा भक्तजन तथा श्रद्धालुहरूको चहलपहल बढ्ने भएकाले मन्दिर तथा सार्वजनिक स्थलको सरसफाइलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियासहित मातहतका गण, गुल्म तथा बी.ओ.पी.हरूबाट जिम्मेवारी इलाकाभित्र रहेका विभिन्न धार्मिक तथा सार्वजनिक स्थलहरूमा सरसफाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ५१ वटा धार्मिक तथा सार्वजनिक स्थलमा सरसफाइ गरिएको थियो। जसअनुसार कैलालीमा १६, कञ्चनपुरमा १७, डडेल्धुरामा ३, बैतडीमा २, दार्चुलामा ५, डोटीमा २, अछाममा १, बझाङमा ३ र बाजुरामा २ स्थानमा सरसफाइ गरिएको थियो।

सरसफाइका क्रममा सम्बन्धित क्षेत्रमा रहेका फोहोरमैला संकलन तथा व्यवस्थापन गर्नुका साथै धार्मिक स्थल तथा मन्दिर परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने कार्य गरिएको थियो। यस अभियानले पर्वका समयमा धार्मिक स्थलमा आउने श्रद्धालुहरूका लागि स्वच्छ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा तथा विपद् प्रतिकार्यको जिम्मेवारीसँगै समुदायसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जनचेतनामूलक कार्यक्रम, सरसफाइ अभियान, रक्तदान तथा सामाजिक सेवामूलक गतिविधिमार्फत सशस्त्र प्रहरीले समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको जनाएको छ।

हरितालिका तीजको अवसरमा सञ्चालन गरिएको यस सरसफाइ कार्यक्रमले धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम गर्न सहयोग पुग्नुका साथै समाजमा सरसफाइ र वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ। यस्ता कार्यक्रमले धार्मिक स्थलको सौन्दर्य तथा स्वच्छता कायम राख्न समुदायलाई समेत प्रेरित गर्ने विश्वास गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले आगामी दिनमा पनि आफ्नो जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको हितमा विभिन्न सेवामूलक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Sharing is caring!

Latest News

सुदूरपश्चिम कला प्रतिष्ठानको साधारण सभा तथा अधिवेशन सम्पन्न, एक कार्यकालपछि अम्बिका प्रसाद आचार्य पुनः अध्यक्षमा
आईतवार, भाद्र २८ ०९:२१