स्थानीय सरकार घर आंगनमा संचालन हुनुपर्छ
- बिक्रम कुँवर ‘प्रतीक’
विभिन्न राजनीतिक अगुवा हरुको नेतृत्वमा नेपाली जनताले पटक पटक गरेको राजनीतिक परिवर्तनको आन्दोलनमा उच्च त्याग,तपस्या,समर्पण र बलिदान बाट एउटा कालखण्डमा एउटा ठूलो परिवर्तन भएको छ।
चाहे त्यो १०४ वर्षको जँहानिया राणा शासनको अन्त्यका लागी गरिएको प्रजातान्त्रिक ब्यबस्था प्राप्तिको बलिदान होस चाहे तीस वर्षको निरंकुश पंचायती ब्यबस्थाका विरुद्ध गरिएको ४६ सालको जनआन्दोलनमा होस अथवा अढाई सय वर्ष लामो शासन गरेको निरंकुश एकात्मक राजतन्त्रको विरुद्ध संघीय गणतन्त्र प्राप्तिको लागि गरिएको महान जनयुद्ध होस भने चाहे ६२/६३ तिरको जनआन्दोलनमा नै किन नहोस यस्ता हरेक आन्दोलनमा नेपाली जनताले अग्र मोर्चामा रही महान बलिदान र योगदान गरेको कुरा स्वर्णिम अक्षरले इतिहासमा दर्ज नै छ।
यद्यपि यी आन्दोलन बाट प्राप्त ब्यबस्थाले जनता र देशमा सुशासन, स्थायित्व, पारदर्शिता, बिकास र आर्थिक समृद्धि कत्तिको भएको छ त्यो समिक्षाको बिषय बन्ला तर बैचारिक नेतृत्वदायी भुमिका रहेका राजनीतिक लिडर हरुको कमाण्डमा भएका क्रान्तिमा सहिदको बलिदान र परिवर्तनकारी महान जनताको कीर्तिमान पुर्ण संघर्षले नै देशमा भएका हरेक राजनीतिक परिवर्तन हरु सम्भब तुल्याएको छ।
पछिल्लो समयमा दस वर्षको जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन बाट स्थापित संघीय गणतान्त्रिक ब्यबस्था अन्तर्गत नै आज नेपालमा हालको राज्य ब्यबस्था प्रणाली चालू रहेको छ त्यही अनुरुप आज नेपालमा तीन तहको सरकारको अवधारणा लागू गरिएको छ सोही ब्यबस्था अनुसार आज केन्द्रमा एक संघीय सरकार, सात वटा प्रदेशमा सात प्रदेश सरकार र ७५३ वटै स्थानीय तहमा स्थानीय सरकार संचालनमा रहेका छन। यी तीन तहका सरकारको आ-आफ्नै खालको अधिकार र कर्तव्य संबिधानमा प्रत्यायोजन गरिएको छ भने आ-आफ्नो कार्यक्षेत्र तोकिएको छ । संबिधान ले निर्देश गरेको मान्यता अनुसार त्यही अनुरुपको कार्यादेश पनि छ । आज यी तिन वटै तहका सरकारहरुले त्यसै संबिधान अनुसार आ-आफ्नो कार्यसम्पादन गरिरहेका छन भने दायित्व र भुमिका पनि सबै सरकारको उत्तिकै रहेको छ। सबैभन्दा माथी केन्द्रमा संघीय सरकार छ, त्यसपछि प्रदेश हरुमा प्रदेश सरकार अनि स्थानीय स्तरमा घर आगनको स्थानीय सरकार । जतिसुकै केन्द्र र प्रदेश सरकारले आफ्ना कार्ययोजना हरु अघि बढाएपनी जनताको बढी गुनासो र भरोसाको केन्द्र बनेको छ आज स्थानीय सरकार । किनकि जनताले प्रत्यक्ष ढंगबाट यसको अनुभुती र प्रयोग गर्न सक्ने भएर यसलाइ घर आँगनको सरकारका रुपमा ठानेका छन। अर्कोतिर स्थानीय सरकार संग बढी जिम्मेवारी, चुनौती र अबसर पनि छन्। एक त यो घर आँगनमा छ, अर्कोकुरा यो सरकारमा आफ्नै समुदाय र परिचित अनुहार हरुले जनप्रतिनिधि भएर जनताको काम गर्ने जिम्मेवारी र अवसर प्राप्त गरेका स्थानीय मानिस छन।
तसर्थ ; एकातिर सजिलै संग स्थानीय सरकारले गरेका हरेक काम कारबाहीमा जनताको प्रत्यक्ष सरोकार र चांसोको बिषय बनेको छ भने अर्कोतिर स्थानिय सरकारले गरेको हरेक कार्यसम्पादनमा निगरानी र खबरदारी गर्न सकिने भएका कारण जनताले यस सरकार लाई आफ्नो घर आँगनको सरकारको रुपमा लिएका छन। अर्को कुरा हाम्रो जस्तो ग्रामीण भेग बढी भएको बिकासोन्मुख रास्ट्र्मा धेरैजसो सवालमा ग्रामीण भेग बाट जो-कोहीको केन्द्र र प्रदेश संग सजिलोसँग पंहुच पनि नहुने भएकाले स्थानीय सरकारलाई आफ्नो गुनासो समस्या राख्न सकिने हुँदा पनि घर आंगनको सरकारका रुपमा बुझेका छन। यो सरकारलाई जनता प्रति सधैं जन उत्तरदायी सेवाभाव र सुशासनको प्रत्याभूत गर्ने दिशामा अघि बढाउन हामी सबैको खबरदारी र दायित्व निरन्तर रहने छ।
