रिलिजको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘जेरी अन टप’ ट्रेलर
काठमाडौं — सार्वजनिक प्रदर्शनको लागि एक सातामात्र बाँकी रहँदा नेपाली चलचित्र ‘जेरी अन टप’को ट्रेलरले युट्युबमा सनसनी मच्चाएको छ। शुक्रबार दिउँसो सार्वजनिक गरिएको ट्रेलर २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको हो।
‘जेरी अन टप’को ट्रेलर हाल युट्युबको नेपाली चार्ट्समा शीर्ष स्थानमा रहेको छ। साथै, दर्जनभन्दा बढी देशका युट्युब ट्रेन्डिङ सूचीमा शीर्ष १० भित्र पर्न सफल भएको छ। विशेषगरी नेपाली समुदाय बढी रहेका देशहरूमा ट्रेलरले उच्च स्थान ओगट्दै प्रशंसा कमाइरहेको देखिन्छ।
डिजिटल पार्टनर बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा मात्रै झण्डै साढे ३ लाख पटक हेरिएको ट्रेलरले २१ हजारभन्दा बढी लाइक र ३ हजार सकारात्मक प्रतिक्रिया पाएको छ। दर्शकहरूले ट्रेलरको कथा, अभिनय, दृश्य र सम्पादनको खुलेर प्रशंसा गरेका छन्।
चलचित्रमा स्टार अभिनेता अनमोल केसी मुख्य भूमिकामा छन्, जो डेढ वर्षपछि पुनः पर्दामा फर्किएका हुन्। यस कारण फिल्मलाई वर्ष २०८२ को सर्वाधिक प्रतिक्षित नेपाली चलचित्र को रूपमा हेरिएको छ।
सुयोग गुरुङको निर्देशनमा बनेको ट्रेलरलाई शाहिल खानले सम्पादन गरेका हुन् भने फिल्म सरोज न्यौपानेको निर्माण र अनन्या फिल्म्सको ब्यानरमा तयार गरिएको हो।
फिल्ममा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त र उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ।
‘जेरी अन टप’ असोज ३१ गतेबाट देशभरका हलमा प्रदर्शन हुने तयारीमा छ। राजधानी क्षेत्रमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनी ले वितरण अधिकार लिएका छन्।
निर्माता सरोज न्यौपानेका अनुसार, चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग देखिएको छ, जसले नेपाली फिल्म उद्योगप्रतिको उत्साह अझ बढाएको छ।
