१८ बैशाख २०८३, शुक्रबार
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी
आईतवार, आश्विन २६ १५:४७

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा विजयी भएका छन्। उनले प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतले पराजित गरेका हुन्।
निर्वाचनमा ओझाले ९५० मत प्राप्त गरे भने स्वाँरले ८८९ मत पाए। दुई प्यानलबीच कडा प्रतिस्पर्धा भएको मतदानमा ओझा नेतृत्वको प्यानलले तीन उपाध्यक्ष र एक महासचिव पदमा जित हासिल गरेको छ। त्यस्तै, स्वाँर नेतृत्वको प्यानलले दुई उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष पदमा विजय प्राप्त गरेको छ।
वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे। उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा ओझा प्यानलका गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै भीमराज ओझा (अब्बु) विजयी भएका छन्।

संघको महासचिवमा ओझा प्यानलका दिनेश लम्साल निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी सुरेश पाण्डेलाई पराजित गरे। कोषाध्यक्षमा स्वाँर प्यानलका तिलकबहादुर बोहरा र सचिवमा स्वाँर प्यानलका प्रकाशकुमार चन्द विजयी भएका छन्।
सदस्यतर्फ शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक निर्वाचित भएका छन्।संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार मतदान भएको थियो। कुल २,३३५ मतदाता मध्ये १,९४० मत खसेको थियो। नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि ५० जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
नव–निर्वाचित अध्यक्ष ओझाले आफ्नो जीतलाई उद्योगी–व्यापारीको विश्वासको परिणाम बताउँदै संघलाई सबल, पारदर्शी र व्यवसायमैत्री बनाउन प्रतिबद्ध रहने बताएका छन्। उनले भने,
“हामी सबै उद्योगी र व्यापारीको साझा मञ्चका रूपमा संघलाई सबल र परिणाममुखी बनाउनेछौं उनका अनुसार संघले आगामी दिनमा उद्योग, व्यापार, रोजगार र लगानीमैत्री वातावरण निर्माणमा सक्रिय भूमिका खेल्नेछ।कैलाली उद्योग वाणिज्य संघ सुदूरपश्चिमको व्यवसायिक क्षेत्रको अग्रणी संस्था मानिन्छ। संघले जिल्लामा उद्योग, व्यापार, लगानी प्रवर्द्धन, नीति सुधार र व्यवसायीको अधिकारका लागि लगातार क्रियाशील भूमिका खेल्दै आएको छ।

Sharing is caring!

Latest News

फिल्म ‘मैझारो’को प्रचारप्रसार शुरु, पूर्वका शहरमा सांगीतिक कार्यक्रमको आयोजना
आईतवार, आश्विन २६ १५:४७
धनगढीमा १९औं सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि
आईतवार, आश्विन २६ १५:४७