धनगढीमा नृत्यको उत्सव, परिधी दाहालले जितिन् डान्स च्याम्पियनसिप–४
धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को उपाधि परिधी दाहालले जितेकी छन्। धनगढीस्थित वैभव पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनालीमा ९ जना प्रतिस्पर्धीलाई उछिन्दै परिधीले ताज पहिरिएकी हुन्।
ग्राण्ड फिनालीमा परिधीले शिव ताण्डव नृत्य प्रस्तुत गर्दै निर्णायक तथा दर्शकको मन जितेकी थिइन्।
परिधीसँगै कृष्णनगर नगरपालिकाका सुसान्त धामी पनि संयुक्त विजेता बनेका छन्। दुवैजनाले नगद रु. २,११,१११ तथा आकर्षक ट्रफी प्राप्त गरेका छन्। च्याम्पियनसिप अवधिभर उत्कृष्ट प्रदर्शन गरेकी परिधीले विशेष उपहारस्वरूप गितार पनि प्राप्त गरिन्।
त्यस्तै फस्ट रनरअप धनगढीका हनिस मौनी भएका छन्। उनले नगद रु. १,११,१११ तथा आकर्षक ट्रफी जितेका छन्। ७ वर्षीय मौनीले सानो उमेरमै उत्कृष्ट नृत्य प्रतिभा प्रस्तुत गरेका थिए।
सेकेन्ड रनरअपको उपाधि तनुजा थापाले जितेकी छन्। उनले नगद रु. ६१,१११ तथा आकर्षक ट्रफी प्राप्त गरिन्।
द टुइन्स डान्स स्टुडियो, धनगढीको आयोजनामा पाँच वर्षअघि सुरु गरिएको धनगढी डान्स च्याम्पियनसिप सुदूरपश्चिमकै लोकप्रिय डान्स रियालिटी शोको रूपमा परिचित छ। ग्राण्ड फिनाली कार्यक्रममा विशेष अतिथिका रूपमा चर्चित डान्सर तथा कोरियोग्राफर सुनिल क्षेत्री सहभागी थिए। उनले आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। साथै सक्रिय, समीर, धिरेन र अछामी रेखाले पनि प्रस्तुति राखेका थिए।
द टुइन्स डान्स स्टुडियोका निर्देशक केशव बलायरको अध्यक्षतामा सम्पन्न उक्त ग्राण्ड फिनाली कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य डम्मरी महरा (रक्षा) रहेकी थिइन्। कार्यक्रममा कांग्रेस नेता भिम पडाल, प्याब्सनका केन्द्रीय सदस्य पुष्पा भट्ट तथा टोपेन्द्र शाह, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष मेखराज दाहाल, कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाशकुमार चन्दलगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि महराले सुदूरपश्चिम प्रदेशमा लुकेर रहेका प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउँदै आयोजकलाई निरन्तरताको शुभकामना दिइन्। कार्यक्रमको सञ्चालन वरिष्ठ उद्घोषक गुणाकर पनेरुले गरेका थिए।
