विदेशी भिनाजु र कान्छी सालीको अधुरो कथा बोकेको ‘मेरी कान्छी साली २ बाडुली’ सार्वजनिक
मेरी कान्छी साली २ बाडुली’ गीत सार्वजनिक भएको छ।सूर्य बि सि र रेखा जोशीको सुमधुर आवाजमा सजिएको देउडा गीत ‘मेरी कान्छी साली २ बाडुली’ सार्वजनिक भएको छ। गीतका शब्द सुरेन्द्र बिक स्मृतिका रहेका छन् भने संगीत नरेश पार्कीले तयार गरेका हुन्। गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन्।गीतको भिडियोतर्फ छायांकन अमृत उपाध्याय, सम्पादन प्रवीण रेश्मी मगर तथा निर्देशन भीम थापाले गरेका छन्। भिडियोमा ओम बम र मनिषा रावलको आकर्षक अभिनय रहेको छ। उक्त गीत चौतारी म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।गीतले विदेशबाट लामो समयपछि माइतीघर पुगेका एक भिनाजु र कान्छी सालीबीचको आत्मीय सम्बन्ध, भेटघाट, रमाइला पल र त्यसपछि परिस्थितिका कारण टाढिनुपरेको भावनात्मक कथा प्रस्तुत गरेको छ। विदेशबाट घर फर्किएका भिनाजुलाई परिवारले खुसीसाथ स्वागत गर्छन्। तर उनको ध्यान भने कान्छी सालीतर्फ केन्द्रित हुन्छ। केही समयपछि भेट भएका उनीहरू बजार घुम्न जान्छन्, रमाइला क्षण बिताउँछन् र विभिन्न स्थानमा घुम्दै सम्झनाहरूलाई तस्बिरमा कैद गर्छन्।बिदाको समय सकिएसँगै भिनाजु पुनः विदेश फर्किन्छन्। त्यसपछि फोन, भिडियो कल र सामाजिक सञ्जालमार्फत उनीहरूको सम्पर्क कायम रहन्छ। तर सामाजिक सञ्जालमा साझा गरिएका तस्बिर र बढ्दो नजिकियताका विषयमा परिवारमा विभिन्न कुरा फैलिन थालेपछि सम्बन्धमा दूरी आउँछ। अन्ततः सालीले भिनाजुलाई सामाजिक सञ्जालबाट ब्लक गर्छिन् र सम्पर्कविहीन बन्छिन्।गीतको कथा भावनात्मक मोडमा अघि बढ्दै जीवनका केही सम्बन्धहरू परिस्थितिका कारण कसरी अधुरा बन्न पुग्छन् भन्ने यथार्थ चित्रण गर्छ। अन्त्यमा भिनाजु पुराना तस्बिरहरू हेर्दै विगतका सम्झनामा हराउँछन् र मनमनै भन्छन्, “सायद दूरीले होइन, परिस्थितिले हामीलाई छुटायो।”समसामयिक सामाजिक परिवेश र भावनात्मक कथावस्तु समेटिएको ‘मेरी कान्छी साली २ बाडुली’ दर्शक तथा श्रोतामाझ रुचाइने अपेक्षा गरिएको छ।
