बिहीबार, भाद्र १८ १५:२०
भोटेकोशी बाढीपीडितका लागि जेसीज एभरेस्ट मावि परिवारद्वारा रु. १ लाख १ हजार सहयोग
धनगढी । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जेसीज एभरेस्ट माध्यमिक विद्यालय, धनगढी परिवारले रु. १ लाख १ हजार आर्थिक सहयोग गरेको छ।
विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको पहलमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विद्यालय परिवारका तर्फबाट रु. १,०१,००० (एक लाख एक हजार रुपैयाँ) सहयोग रकम जम्मा गरिएको हो।
विपद्का कारण प्रभावित नागरिकलाई मानवीय सहयोग पुर्याउने उद्देश्यले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले आफ्नो क्षमता र इच्छाअनुसार स्वेच्छिक रूपमा सहयोग गरेका थिए।
विद्यालय परिवारले यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
विपद्को यस कठिन परिस्थितिमा विद्यालय परिवारको तर्फबाट गरिएको सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।