श्रमिक र युवाको आवाज बोकेर कैलाली–५ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा नवीन रावल
धनगढी । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नवीन रावलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।श्रमिकको हक, अधिकार र सामाजिक सुरक्षाका विषयमा लामो समयदेखि सक्रिय रावलले आफूलाई श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा अघि सारेका छन्। उनी नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका कार्यसमिति सदस्य हुन्।“श्रमजीवीको आवाज कांग्रेसको नेतृत्वसम्म पुर्याउँछु। श्रमजीवीकै प्रतिनिधित्व गर्दै कांग्रेसको महाधिवेशन प्रतिनिधिमा अघि सरेको छु,” रावलले भने।रावल राजनीतिकसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। युवा व्यवसायीका रूपमा समेत परिचित उनले विभिन्न सामाजिक गतिविधि तथा सहयोगका अभियानमा सहभागिता जनाउँदै आएका छन्।कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्किएका नेपालीलाई सहयोग गर्ने अभियानमा समेत रावल सक्रिय थिए। कैलालीको भन्सार क्षेत्रमा भारतबाट फर्किएका नागरिकका लागि भोजन तथा यातायात व्यवस्थापनमा उनले भूमिका निर्वाह गरेका थिए। महामारीको कठिन परिस्थितिमा स्वदेश फर्किएका नागरिकलाई सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने कार्यमा उनको सहभागिता रहेको थियो।रावलको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल तरुण दल कैलालीका उपाध्यक्षसमेत भइसकेका छन्। त्यसपछि कांग्रेसको संगठन निर्माण, युवाको सहभागिता तथा श्रमिक आन्दोलनमा समेत उनले आफ्नो सक्रियता बढाउँदै आएका छन्।राजनीति, श्रमिक संगठन र सामाजिक सेवाको अनुभवलाई आधार बनाउँदै रावलले कांग्रेसको संगठनमा युवा तथा श्रमिक वर्गको सहभागिता अझ प्रभावकारी बनाउने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।युवा पुस्ताको सहभागिता, श्रमिक वर्गको प्रतिनिधित्व र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आफू अघि बढेको उनको भनाइ छ।कैलाली–५ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेसँगै रावलले आफ्नो अभियानलाई समेत तीव्रता दिएका छन्। विद्यार्थी राजनीतिदेखि तरुण दल, ट्रेड युनियन र सामाजिक क्षेत्रमा जोडिएको उनको अनुभवका कारण उनको उम्मेदवारीलाई कांग्रेसको स्थानीय वृत्तमा चासोका साथ हेरिएको छ।