भोटेकोशी बाढीपीडितलाई ख्रिष्टिय एकता समाज कैलालीको ८ लाखभन्दा बढी सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि ख्रिष्टिय एकता समाज कैलालीले ८ लाख १ हजार ८५० रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विपद्मा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले समाजले उक्त रकम संकलन गरेको हो। समाजका अनुसार कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा आबद्ध विभिन्न चर्च तथा कार्यसमिति सदस्यहरूबाट स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको थियो।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा रकम संकलन गरी कोषमा जम्मा गरिएको समाजका पदाधिकारीहरूले बताएका छन्।
भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति ख्रिष्टिय एकता समाज कैलालीले गहिरो दुःख व्यक्त गरेको छ। बाढी तथा त्यसबाट सिर्जित विपद्का क्रममा ज्यान गुमाउने नागरिकहरूप्रति समाजले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
त्यस्तै, बाढीका कारण बेपत्ता भएका नागरिकहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समाजले विपद्को समयमा सबै पक्षलाई सहयोग र सहकार्यका लागि आग्रह गरेको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन तत्काल उद्धारसँगै राहत, उपचार र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको भन्दै समाजले सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघसंस्था, सामाजिक संस्था तथा आमनागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ।
समाजका अध्यक्ष पा. ज्ञानबहादुर चौधरी र सचिव खडक बिकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएका हुन्। उनीहरूले विपद्को समयमा मानवीय सेवाभावका साथ सहयोग गर्ने चर्च तथा कार्यसमिति सदस्यहरूप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
समाजले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा नागरिक समाजका प्रतिनिधिहरूको सुरक्षाका लागि निरन्तर प्रार्थना गरिरहेको जनाएको छ। साथै विपद्बाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षबीच सहकार्य र एकताको आवश्यकता रहेको समाजको भनाइ छ।