२१ आश्विन २०८३, बुधबार
मैयाँ पाएपछि काजीको नयाँ संघर्ष, ‘कबड्डी ५’मा प्रेमसँगै जीवनको परीक्षा
बुधबार, आश्विन २१ २१:२१

मैयाँ पाएपछि काजीको नयाँ संघर्ष, ‘कबड्डी ५’मा प्रेमसँगै जीवनको परीक्षा

काठमाडौं । ‘कबड्डी’का अघिल्ला चार शृंखला सम्झिँदा काजीको एउटै ध्याउन्न देखिन्थ्यो—मैयाँलाई पाउनु। मैयाँको पछि लाग्दै, साथीभाइसँग झगडा गर्दै र अनेक हर्कत गर्दै प्रेम प्राप्तिका लागि काजीले गरेको संघर्ष नै ‘कबड्डी’को मुख्य कथा बन्यो।

तर पाँचौँ भागमा आइपुग्दा काजीको प्रश्न फेरिएको छ।

अब प्रश्न ‘मैयाँलाई कसरी पाउने?’ भन्ने होइन, ‘प्रेम पाएपछि जीवन कसरी चलाउने?’ भन्ने बनेको छ।

आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ मा काजी यही नयाँ परिस्थितिसँग जुध्दैछन्। अभिनेता दयाहाङ राईका अनुसार यसपटक काजीले प्रेमसँगै परिवार, समाज र साथीभाइका लागि धेरै कुरामा सम्झौता गर्नुपर्ने अवस्था आउँछ।

‘एउटा उमेरसम्म हामीलाई लाग्छ—मेरो जिन्दगी हो, मेरो निर्णय हो। तर समय बित्दै जाँदा परिवार चाहिन्छ, साथीभाइ चाहिन्छ, समाज पनि चाहिन्छ। अनि त्यहीँबाट जीवनको अर्को अध्याय सुरु हुन्छ,’ दयाहाङको भनाइ छ।

‘कबड्डी ५’ मा काजीको जीवनमा मैयाँ फेरि फर्किन्छिन्। पुरानो प्रेमले मनमा हलचल ल्याए पनि यसपटक काजीको प्राथमिकता केवल प्रेम पाउनुमा सीमित छैन। उसले आफ्नो सपना, परिवार, साथीभाइ र समाजबीच सन्तुलन मिलाउनुपर्नेछ।

त्यसमाथि बदलिँदो राजनीतिक परिवेशले पनि काजीको जीवन र सोचमा प्रभाव पार्नेछ। त्यसैले पाँचौँ भागमा आइपुग्दा काजी उही पुरानो काजी भए पनि उनको जीवन भने पहिलेको जस्तो छैन।

अभिनेता दयाहाङका लागि पनि काजी अब पर्दाको पात्र मात्र रहेनन्। करिब १५ वर्षदेखि एउटै पात्रसँग यात्रा गर्दा काजी आफ्नै साथी जस्तो लाग्न थालेको उनी बताउँछन्।

रोचक कुरा त के छ भने, दयाहाङ काजीको कथा यहीँ सकियोस् भन्ने पक्षमा छैनन्। उनी त काजी र उनका साथीहरू ६५ वर्षको उमेरमा पुग्दा उनीहरूको जीवन कस्तो होला भन्ने कथासमेत सोचिरहेका छन्।

अब प्रश्न भने एउटै छ—मैयाँ पाएपछि काजीको जीवन साँच्चिकै सुखी हुन्छ त? कि प्रेम पाउनु नै काजीको सबैभन्दा ठूलो समस्या बन्नेछ?

यसको जवाफका लागि भने कात्तिक ६ गतेसम्म पर्खिनुपर्नेछ।

Sharing is caring!

Latest News

सामाजिक सेवाबाट कांग्रेसको केन्द्रीय नेतृत्वतर्फ विनोद कार्कीको यात्रा , खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी
बुधबार, आश्विन २१ २१:२१