निखिल र वर्षाको चलचित्र ‘कस्तुरी’को अन्तिम चरणको छायाङ्कन पुन सुरु
चलचित्र कस्तुरीको अन्तिम चरणको छायाङ्कन सुरु भएको छ । आज काठमाडौँबाट निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्मको बाकी छायाङ्कन सुरु भएको निर्माण टिमले जानकारी दिएको हो । ९०% छायाङ्कन सकिसकेकोमा अब बाकी १०% छायाङ्कन पनि चाडै सक्ने योजनामा टिम लागेको हो । प्रतिकुल परिस्थितिको कारण केही समय ढिला भएको चलचित्रको काम अब भने चुस्त गतिमा अघि बढ्ने निर्माण टिमले जानकारी दिएको छ ।
ऋत बोहोराले निर्देशन गरेको फिल्ममा वर्षा र निखिल सँगै शेखर चापागाईँ, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ । क्यामियो’ भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिँदै छन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा बोहोराले नै लेखेका हुन् । चलचित्रको निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह-निर्मातामा अञ्जली चौधरी छिन् । छायाकार आलोक शुक्ला हुन् भने सहायक निर्देशकमा ललित विष्ट छन् । सङ्गीत प्रशान्त सिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले हेर्नेछन् ।