धनगढी सिटी अफ क्रिकेटको टोपी लन्च
धनगढी,
धनगढीलाई क्रिकेटको शहरको रुपमा चिनाउन बिहीबार धनगढी सिटी अफ क्रिकेट लेखिएको टोपी लन्च गरिएको छ ।
धनगढी क्रिकेट एकेडेमीले टोपी लन्च गरेको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच टोपी लन्च गरेका हुन । टोपी बजारमा ल्याउनु हेर्दा सामान्य कुरा जस्तो लागेपनि यसले ठूलो सन्देश दिने नगरप्रमुख वडले बताए । धनगढीलाई क्रिकेटको शहरको रुपमा चिनाउन यो अभियानले सहयोग पुग्ने छ, नगरप्रमुख वडले भने, धेरैले धनगढीलाई क्रिकेटको शहरको रुपमा चिन्ने गर्दछन् ।
धनगढी आउने पाहुँनाहरुले यहाँबाट के चिनो लगेर जाने भन्दा टोपी लिएर जान सक्दछन् धनगढी क्रिकेट एकेडेमीका निर्देशक सुवास शाहीले भने, यो धनगढीको स्पेशल चिनो हुन सक्छ । धनगढी सिटी अफ क्रिकेट लेखिएको टोपी धनगढीका सबै पसलहरुमा उपलब्ध हुनेगरी राखिने निर्देशक शाहीले बताए । उनले टोपीबाट हुने आम्दानीको २० प्रतिशत क्रिकेट खेलको विकासमा खर्चिने बताए ।
पछिल्लो समयमा धनगढीमा देशकै सबैभन्दा ठूलो धनराशीको क्रिकेट प्रतियोगिता (धनगढी प्रीमियर लिग) हुने गरेको छ । धनगढीमा सन् २०१० बाट एसपीए कप बाट सुरु भएको थियो । एसपीए कपले ४ वटा संस्करण खेलाएको थियो । सन् २०१६ मा आएर एसपीए कप र धनगढी क्रिकेट लिग गाभिएर धनगढी प्रीमियर लिग सुरु भएको थियो । धनगढी प्रीमियर लिग पहिलो र दोश्रो संस्करण सम्पन्न भएको छ भने अव तेश्रो संस्करणको तयारी भैरहेको निर्देशक शाहीले बताए । सन् २०१५ बाट धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम् निर्माणका लागि ड्रीम फाप्ला अभियान सुरु गरिएको छ । प्रदेश र स्थानीय सरकारले बजेट समेत बिनीयोजन गरेको छ ।
