निर्मला पन्तको विषयमा निर्मित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ ।
चितवनमा छायांँकन गरिएको सो चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थतीलाई ट्रेलरमा देखाईएको छ ।
शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सञ्जिवनी खरेलले मुख्य भुमिका निर्वाह गरेका छन् । चलचित्रमा त्यस्तै प्रकृती खरेल, ऋद्दीचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, सूर्यप्रसाद अधिकारी, राखी क्षेत्रीलगायतको समेत अभिनय रहेको निर्माण टिमले बताएको छ ।
गणेश गिरीको प्रस्तुती रहेको कोपिलालाई सञ्चारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रकोे कार्यकारी निर्मातामा सुवास काफ्ले रहेका छन् । चलचित्रमा समीर मिया, रामेश्वर कार्की सह निर्माताको रुपमा छन् । चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समीर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ ।
८० लाख रुपैयाँको लगानीमा निर्माण भएको यो चलचित्रको सेन्सर समेत पास भैसकेको निर्देशक अधिकारीले बताएका छन् । बलात्कारपछि हत्या भएकी कन्चलपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको कथासँंग चलचित्रको कथा रहेकाले निर्मलाको परिवारसँग लिखित अनुमती लिएर चलचित्र बनाईएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रको रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।
कोपिला’को ट्रेलर सार्बजनिक
