प्रथम नमस्कार सहितको सेवा गर्ने प्रतिवद्धता
धनगढी ,कैलालीको गौरीगंगा नगरपालिकाका कर्मचारीहरुले सेवा प्रवाहलाई मानवअधिकार मुखि बनाउन सेवाग्राहीहरुलाई प्रथम नमस्कार सहितको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार एफएमडिसी, विकास र परिवर्तनका लागी संचारले आयोजना गरेको मानवअधिकार संरक्षणका लागी नगरपालिकाको भुमिका जिम्मेवारी र मापदण्ड बिषयक सचेतना कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले वितगमा सेवाग्राहीहरु कार्यालयमा आउँदा सेवाग्राहीहरुले नै सुरुमा नमस्कार गर्ने गरेको र अबका दिनमा व्यवहारीक पक्षलाई ध्यान दिदै नमस्कार गरेर स्वागत गर्ने बताए ।
साथै उनले सेवाग्राही र सेवाप्रदायक निकाय बिच सुमधुर बनाउनका लागी कर्मचारीहरुले सेवाग्राहीसंग अभिवादन तथा समानजनक व्यवहार गर्ने, छिटो र छरितो सेवा प्रवाह गर्ने, भलाकुसारी तथा सम्वन्ध बिस्तार गर्ने, असम्भव पक्षहरुलाई बिकल्प दिने, सेवापृष्ठपोषण लिने, सेवाग्राही संग सेवा बारे अप्रत्यक्ष रुपमा छलफल गर्ने, सार्वजनिक सुनुवाई गर्ने बताए ।

साथै अधिकृत जोशीले सेवा प्रदान बारे सार्वजनिक सुनुवाई गर्ने संचार माध्यमबाट सुचना प्रवाह गर्ने, नागरिक वडापत्रको वास्तविक प्रयोग गर्नेजनमत सर्वेक्षण गर्ने, सेवा प्रभावकारी भए नभएको जाँच्नाले सेवा ग्राही र सेवाप्रदायी निकाय बिच सुमधुर सम्बन्ध भई काम कारबाहिमा पनि सहज हुने बताए ।
एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दले गौरीगंगा नगरपालिकालाई एक बर्ष भित्र मानव अिधकार मैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । साथै उनले जव सम्म हरेक व्यक्तिले समाजमा स्वतन्त्र भएर आफ्ना कुराहरु राख्ने वातावरण पाउदैन तब सम्म मानवले अधिकारको अनुभुती नगर्ने बताए ।

मानवअधिकार प्रत्याभुतका लागी कानुनमा मौलिकहकको व्यवस्थाबारे सबैलाई जानकारी हुन आवश्यक भएको बताए ।
कार्यक्रममा मानव अधिकार र यसको संरक्षणका लागी नगरपालिकाको भुमिका जिम्मेवारी र मापदण्ड बिषयमा छलफल गरिएको थियो ।
