धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

धनगढी,२५ कातिक । छोरी चेली माथी बलात्कार र हैरानीका घटनामा बृद्धी हुन थालेपछि धनगढीमा आत्मरक्षा तालिम दिन थालिएको छ ।
यसका लागि ‘प्रहार’ महिला हिंसा बिरुद्धको अभियान सुरु गरिएको छ । राष्ट्रिय गोजुरीयो कराते–दो संघको प्राविधीक सहयोग तथा समन्वयमा ६ दिन देखि ३० जना यूवतीहरुलाई आत्मरक्षा तालिम प्रशिक्षक प्रशिक्षण तालिम दिन थालिएको छ । तालिम सात दिन सम्म चल्ने छ । तालिम पाएकालाई आत्मरक्षा तालिमको प्रशिक्षकका लागि प्रयोग गरिने बताईएको छ । आत्मरक्षा तालिमको प्रशिक्षण राष्ट्रिय गोजुरीयो कराते संघ केन्द्रिय महासचिव प्रकाश चन्दले गरेका छन् ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिला माथी हुने बलात्कार र जवरजस्तीका घटनाहरु न्यूनिकरण गर्नका लागि तालिमको महसुसिकरण गरिएको बताईन । तालिमबाट सिकेका सिपहरुलाई गुणात्मक रुपमा छोरीचेली सम्म पु¥याउनु होला उप–प्रमुख भट्टले भनिन्, ‘ यसको उदेश्य भनेको आत्मरक्षाका लागि मात्रै हो सिपको दुरुपयोग नगर्नु होला ।’ उप–प्रमुख भट्टले राजनितिक क्षेत्रमा लागेका महिलालाई पनि आत्मरक्षा तालिम आवश्यक रहेको बताईन ।
यस अघि धनगढी उप–महानगरपालिका वडा नं १४, १८ र १९ का ८ सय महिला तथा यूवतीहरुलाई एउटै शिविरमा राखेर तालिम दिएको थियो । गत बर्ष नै धनगढी उप–महानगरपालिका र राष्ट्रिय गोजुरीयो कराते संघ सुदूरपश्चिमको आयोजनामा २ हजार ४ सय भन्दा बढी महिलालाई धनगढीमा आत्मरक्षा तालिम दिएको थियो । तालिममा १२ बर्ष देखि २५ उमेर समुहका यूवतीहरु धेरै थिए । तालिमबाट आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा सिकाईएको तालिमका सहभागि महिला पत्रकार निर्मला कडायतले बताईन । उनले भनिन् , आफु माथी बलात्कार र जबरजस्ती गर्न आउनेबाट कसरी बाँच्न सकिन्छ भन्ने सिप राम्रै सिकियो ।
