पर्साको सखुवाप्रसौनी गाउँपालिकामा मृत अवस्थामा भेटिएका सन्तोष यादवको घटनाको अनुसन्धान प्रक्रिया झनै पेचिलो बन्दै

मेघराज राय।पर्सा सम्बादाता , ११ मंसिर । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा मृत अवस्थामा भेटिएका सन्तोष यादवको घटनाको अनुसन्धान प्रक्रिया झनै पेचिलो बन्दै गएको छ । गएको शनिवार यादव मृत अवस्थामा भेटिएका थिए । सखुवाप्रसौनी गाउँपालिका वडा नं २ प्रसौनी निवासी ३८ वर्षिय यादवको घटना शुरु देखि नै शंकास्पद देखिए पनि प्रहरीले हाल सम्म दोषीलाई पहिचान गर्न सकेका छैन । घटनामा संलग्न हुन सक्ने आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेपनि पक्राउ परेकालाई छुटाउन स्थानिय नेताहरुको दौडघुप सुरु भएको छ ।
मृतक युवकको पारिवारिक पृष्ठभुमि हेर्दा घटनामा परिवारका सदस्यहरु नै सहभागी भएको हुनसक्ने स्थानियहरुको भनाई छ । तर, परिवारिक स्रोतका अनुसार मृतक यादवले आँपको रुखमा पासो लगाएर आत्महत्या गरेका हुन् । प्रहरी घटनास्थलमा पुग्दा पनि अवस्था शंकास्पद नै रहेको भेटिएको थियो । इलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाका अनुसार घटनास्थलमा एउटा मात्र आँपको रुख थियो । पासो पनि गम्छाले लगाइएको थियो ।घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुका अनुसार शरिर भरी निल डाम रहेको घाटीमा खासै समस्या देखिएको थिएन ।
स्थानीय जवाहिर यादवले मृतक यादवलाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा देखेको र बचाउन सकिन्छ कि ? भनेर पासोबाट मुक्त गरेका थिए । जवाहिर मृतकको नातामा काका पर्छन् ।
दाजुको मृत्युपछि उनले नै सन्तोष र उनकी आमाको रेखदेख गर्दै आएका थिए । सन्तोषको आमाको समेत मृत्यु भइसकेको छ । मानसिक अवस्था कमजोर भएका कारण उनी बाँसको झाडीमा नै बस्दै आएका थिए । सन्तोषले आत्महत्याको बारेमा सोच्न समेत नसक्ने स्थानीयवासीको दाबी छ ।
जवाहिरका छोरा मनोज र विनोदले सन्तोषलाई कुटपिट गर्ने गरेको, खान नदिएर घरबाट भगाउने गरेको आरोप स्थानीयले लगाएका छन् । तर, परिवारका सदस्यहरुले भने झाडीमै खाना पु¥याउदै आएका थिए । सम्पत्तिमा हक दिनुपर्छ भनेर सन्तोषको उपचार नगराएको र उनीहरुले नै षडयन्त्र गरेर मारेको हुनसक्ने स्थानीयको आशङ्का छ । स्थानियहरुका अनुसार घटनाको सत्यतथ्य तथा सुक्ष्म छानविन हुनुपर्ने माग गर्दै आएका छन् ।
पोष्टमार्टममा मृत्युको कारण खुल्ने भएकोले त्यसै अनुसार अनुसन्धान अगाडि बढाउने प्रहरी अधिकारीहरुले बताएका छन् ।
तर, यसैबिचमा स्थानिय नेताहरुले घटनालाई मिलाउन चलखेल गरी रहेको स्थानिय अगुवाहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले मृत्यु शङ्कास्पद नै लागेकोले सोहीअनुसार अनुसन्धान भइरहेको तथा दोषी नउम्किने दावी गरेका छन् ।
यता प्रहरीले सुरुमा घटना संलग्न रहेको हुनसक्ने आशंकामा ४ जनालाई नियन्त्रणमा लिइएको भएपनि ३ जनालाई रिहा गरेको छ । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रारम्भिक अनुसन्धानमा दोषी नदेखिएका कारण उनीहरुलाई रिहा गरिएको तथा एक जनालाई हिरासतमै राखेर घटनाको अनुसन्धान भइरहेको छ ।
स्थानिय अगुवाहरुका अनुसार मृतक युवकको आफन्त भन्ने कोहि नरहेको तथा भरदारहरु पनि सम्पती हत्याउँने दाऊमा रहेको कारण स्थानिय नेताहरुकै दबाबमा घटना मिलाउने प्रयास भइरहेको छ । प्रहरीले भने यस्तो आरोपहरुको खण्डन गर्दै हत्या नै भएको हो भन्ने दोषी नउम्किने बताउदै आएको छ ।
