
वडा अध्यक्ष विक माथि आक्रमण
महेन्द्रनगर । बेदकोट नगरपालिका ५ वडा अध्यक्ष गणेक विक (कुशल) माथि ढुङ्गा प्रहार गरी आक्रमण गरिएको छ । महाकाली अस्पतालमा भर्ना गरिएका विकको मुखमा चोट लागेको छ ।
स्थानीय राजेन्द्र बोहरा (राजी) र धनराज बोहरा लगायतले समान्य विवादमा अध्यक्ष बिकमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरेका हुन् । उनीहरु दुबैले मदिरा सेवन गरेका थिए ।
वडा कार्यालयमा समान्य विवाद मिलाउने क्रममा उनीहरुले प्रहरीको सामु अध्यक्षमाथि आक्रमण गरेका छन् ।
अध्यक्ष विकले आफूलाई मार्ने नियत राखेर ढुङ्गा प्रहार गरी आक्रमण गरिएको बताए । ‘मदिरा सेवन गरेर आएका थिए, ‘वडाध्यक्ष विकले भने, ‘कुरा नबुझ्दै एकाएक आएर ढुङ्गामुढा प्रहार गरि घाईते बनाए, जनताले बचाए ।’
बेदकोट नगरपालिकाका प्रवक्ता नरेश बहादुर सिहले अध्यक्ष विकमाथि पूर्वाग्रह राखेर आक्रमण गरिएको बताए ।
बेदकोट नगरपालिकाले अध्यक्षमाथि आक्रमणको प्रहरी कार्यालयलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले घट्नाबारे अनुसन्धान थालिएको बताए ।