सुदूरपश्चिम महोत्सवको दोस्रो दिन ‘बबल्स अन्डर स्ट्यान्ड फिस टनेलको उद्घाटन
धनगढी, २३ मंसिर । सुदूरपश्चिम महोत्सवको दोस्रो दिन ‘बबल्स अन्डर स्ट्यान्ड फिस टनेल’ को औपचारिक उद्घाटन गरिएको छ । सुदूरपश्चिम पत्रकार महासंघका अध्यक्ष योगेश रावल कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम बिष्टले संयुक्त फिस टनेलको उद्घाटन गरेका हुन्।
फिस टनेलमा १२ वटा टनेलमा ६० प्रकारका माछा प्रदर्शन गरिएको छ । महोत्सवका लागि यो व्यवस्था पहिलोपटक गरिएको हो। साउथ अमेरिका, ब्राजिल, इन्डोनेसिया लगायतका देशबाट विभिन्न प्रजातिका माछा ल्याइएको टनेलका सञ्चालक ललित सिमखडाले बताए। “घरमा पालिने माछाभन्दा फरक प्रजातिका माछा यहाँ प्रदर्शन गरिएको छ, जसले माछा प्रेमीहरूलाई अध्ययन र ज्ञान हासिल गर्न मद्दत गर्नेछ ,” उनले भने ।
सिमखडाले प्रवेश शुल्क प्रति व्यक्ति एक सय पचास रुपैयाँ राखिएको बताए । “भारत लगायतका मुलुकमा लोकप्रिय रहेको फिस टनेल सुदूरपश्चिमका दर्शकलाई पनि नयाँ अनुभव दिन महोत्सवमा समावेश गरिएको हो,” उनले थपे।
अनुसार महोत्सवमा नविनता ल्याउन फिस टनेलको व्यवस्था गरिएको सुदूरपश्चिम उद्योग वाणिज्य संघका महासचिव आम विष्टले बताए । “हाम्रो महोत्सवको १८ औं संस्करणमा सम्म आइपुग्दा ‘नयाँ के छ?’ भन्ने प्रश्नले सबैलाई सोच्न बाध्य बनायो । यही कारण अनुसन्धानपछि यो नयाँ आकर्षण प्रस्तुत गरेका छौं,” विष्टले भने। फिस टनेलले बालबालिका, युवा र वृद्ध सबैलाई आकर्षण गरेको छ ।