शुक्रबार, आश्विन ३ १२:५८
फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने
काठमाडौं । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बलिदान’ आउँदो फूलपातीका दिनदेखि प्रदर्शनमा आउने भएको छ। शुक्रबार यसको ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरको सुरुवातमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देखिन्छिन्। उनले छोरासँग देशको माटो र अस्मितामाथि कुदृष्टि लगाउने ‘रक्तबीजहरू’लाई संहार गर्ने वचन लिन खोज्छिन्।
यसपछि अभिनेता समीर भट्ट प्रवेश गर्छन्। उनका शक्तिशाली संवादसँगै दमदार एक्सन देखाइएको छ। ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी समेत फरक अवतारमा प्रस्तुत छन्।
छायाङ्कन, संवाद र ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई थप आकर्षक बनाएको छ। फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ।
चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
