टिकटकर आचल नाथमाथि पेट्रोल छर्की आगो लगाइने प्रयास, काठमाडौंमा उपचाररत
धनगढी । सुदूरपश्चिमको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–२ बाणि घर भएकी टिकटकर तथा कलाकार आचल नाथमाथि अज्ञात समूहले पेट्रोल छर्की आगो लगाएर ज्यान मार्ने प्रयास गरेको घटना बाहिर आएको छ।
पारिवारिक स्रोतका अनुसार हाल काठमाडौंमा बस्दै आएकी नाथलाई लक्षित गर्दै अज्ञात समूहले आक्रमण गरेको हो। पेट्रोल छर्केर आगो लगाउने प्रयासपछि उनी गम्भीर रूपमा घाइते भएकी थिइन्। तत्कालै उद्धार गरिएकी नाथलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।
हाल उनी काठमाडौंको केएमसी अस्पतालमा उपचाररत छिन्। उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले आधिकारिक विवरण सार्वजनिक गरेको छैन। तर परिवारजनले नाथलाई आवश्यक उपचार भइरहेको र चिकित्सकको टोलीले नजिकबाट निगरानी राखिरहेको बताएका छन्।
घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन। पारिवारिक स्रोतका अनुसार नाथको व्यक्तिगत वा पेशागत जीवनसँग सम्बन्धित विवादबारे कुनै ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन। तर, पेट्रोल प्रयोग गरी ज्यानै मार्ने उद्देश्यले गरिएको प्रयास भएकाले घटना योजनाबद्ध हुन सक्ने आशंका गरिएको छ।
सो घटनाले सामाजिक सञ्जाल प्रयोगकर्ताबीच पनि व्यापक चर्चा पाएको छ। नाथ सामाजिक सञ्जाल ‘टिकटक’मार्फत चर्चामा आएकी युवती हुन्। उनी मनोरञ्जनात्मक सामग्रीका साथै सामाजिक विषयमा समेत सक्रिय हुने गरेकी थिइन्। यही लोकप्रियताका कारण उनलाई लक्षित गरी आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ।
यसैबीच, घटनाबारे विस्तृत छानबिनको माग उठेको छ। नाथमाथि भएको आक्रमणको निन्दा गर्दै उनका साथीभाइ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सुरक्षाकर्मीहरूले भने यसबारे कुनै औपचारिक जानकारी दिएका छैनन्। प्रारम्भिक अनुसन्धान जारी रहेको र घटनाको तथ्य पत्ता लगाउन केही समय लाग्ने बताइएको छ।
कञ्चनपुरमा जन्मिएर सामाजिक सञ्जालमार्फत ख्याति कमाएकी आचल नाथमाथि भएको यो आक्रमणले महिला सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। सामाजिक क्षेत्रमा समेत यसको व्यापक प्रभाव परेको छ।
