धनबहादुर थापा मगरको “मुसुक्क हाँसिदेउ” भिडियो सुटिङ सम्पन्न, भल्कामा भव्य छायांकन
धनगढी, डडेलधुराका स्थानीय धनबहादुर थापा मगरको नयाँ सिर्जना “मुसुक्क हाँसिदेउ, चोखो माया मैसँग गाँसिदेउ” गीतको भिडियो म्युजिक सुटिङ भव्य रूपमा सम्पन्न गरिएको छ। आफ्नै स्वर र शब्दमा तयार भएको यस गीतलाई गायिका देवी घर्ती मगर ले साथ दिएर अझ आकर्षक बनाइएको छ। गीतको संगीत संयोजन कृष्ण बाजुरेली ले गरेका छन्।
सुदूरपश्चिमका चर्चित निर्देशक रमेश बिजुली बिसी को नृत्य निर्देशनमा तयार भइरहेको भिडियोको छायांकन गत शुक्रबार गोदावरी नगरपालिका–९ अन्तर्गत पर्ने रमणीय पर्यटकीय स्थल भल्का क्षेत्रमा गरिएको हो। हरियाली, प्राकृतिक दृश्य र सौन्दर्यले भरिपूर्ण भल्कामा गरिएको छायांकनले गीतको दृश्यात्मक आकर्षणलाई अझ सुदृढ बनाउने निर्माण टोलीको विश्वास छ।
गीतमा हाल चर्चामा रहेको “झुम्की ओइ झुम्की” गीतका मोडेल कैलाश कठायत र मनिषा रावल मुख्य भूमिकामा देखिँदैछन्। उनीहरूसँगै गायक स्वयं धनबहादुर थापा मगर पनि भिडियोमा अभिनयसहित उपस्थित हुनेछन्। त्यस्तै, नव कलाकार आर्जु थापा मगरले यस गीतमार्फत आफ्नो दमदार प्रस्तुति दिएको उनको भनाइ छ।
भिडियोको सम्पूर्ण छायांकन गणेश साउदले गरेका छन्। उच्च गुणस्तरमा निर्माण भइरहेको गीतलाई मंसिर दोस्रो साता सार्वजनिक गर्ने तयारी भएको गायक धनबहादुर थापा मगरले जानकारी दिएका छन्। सार्वजनिक भएपछि गीतले सुदूरपश्चिमेली संगीत क्षेत्रमा नयाँ पहिचान बनाउने उनीहरूको अपेक्षा गरेका छन् ।
