सुटिङ स्थलमा शौचालय र निजी सुविधाको अभाव, मन्त्रीसमक्ष माग: नीति शाह
अभिनेत्री नीति शाहले नेपाली चलचित्र क्षेत्रमा कार्यरत महिला कलाकारहरूका लागि भ्यानिटी भ्यानको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन्।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा बिहीबार आयोजित चलचित्रकर्मीहरूसँगको छलफल कार्यक्रममा बोल्दै शाहले सुटिङका क्रममा महिला कलाकारहरूले शौचालय अभावका कारण दैनिक असुविधा भोग्नुपरेको बताइन्।
उनले भनिन्,“एक म्युजिक भिडियोको सुटिङमा भारतबाट आएकी महिला कलाकारलाई वासरुमको समस्या भएपछि हामीले ‘आजको लागि भ्यानिटी भ्यान छैन’ भनेर ढाँट्नुपर्यो। यस्तो अवस्था अब अन्त्य हुनुपर्छ।”
उनका अनुसार महिला कलाकारहरूले लामो समयसम्म सुटिङ स्थलमै बस्नुपर्ने हुँदा उचित विश्राम र निजी सुविधा अभाव रहँदै आएको छ। शाहले मन्त्रीसमक्ष थपिन्,
“३/४ वटा भ्यानिटी भ्यान भएपनि ल्याउन सकिन्छ, वा बसमै वासरुम अट्याच गर्न सकिन्छ भने महिलालाई धेरै सहज हुन्थ्यो।
चलचित्र विकास बोर्डको प्रतिक्रिया
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले शाहको मागप्रति सहमति जनाउँदै बोर्डले भ्यानिटी भ्यान किन्न पहल गर्ने बताएका छन्।
उनका शब्दमा,“यो केवल सुविधा होइन, चलचित्र उद्योगको व्यावसायिकताको हिस्सा हो।”
मन्त्री खरेलले भने, भ्यानिटी भ्यान किन्ने काम सरकारको नभए पनि सरकारले भन्सारमा कर छुट दिने र नीतिगत सहजीकरण गर्न सक्ने स्पष्ट पारे।
उद्योगमा बहस सुरु शाहको अभिव्यक्तिपछि नेपाली फिल्म उद्योगमा महिला कलाकारहरूको कार्य वातावरण र सुविधा अभावबारे पुनः बहस सुरु भएको छ।
धेरै चलचित्रकर्मीहरूले सामाजिक सञ्जालमार्फत उनको मागलाई समर्थन जनाउँदै लेखेका छन् ।“फिल्म इन्डस्ट्रीमा महिला समानताको पहिलो कदम सुविधा र सम्मानबाटै सुरु हुनुपर्छ।
