सुदूरपश्चिम महोत्सवमा पर्फर्मर दुर्गेश थापाको भव्य इन्ट्री, ४ गते ‘वाइल्डफायर’ प्रस्तुति
धनगढी । सुदूरपश्चिम महोत्सवमा चर्चित गायक तथा पर्फर्मर दुर्गेश थापाको भव्य इन्ट्री हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्द्रका अनुसार महोत्सवको ४ गते दुर्गेश थापाले विशेष सांगीतिक प्रस्तुति दिने तय भएको हो। महोत्सवको अवधि थपिएसँगै दर्शकको माग र उत्साहलाई मध्यनजर गर्दै उनको प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ।
गायक तथा पर्फर्मर दुर्गेश थापाले आफ्नो आधिकारिक फेसबुक वालमार्फत धनगढी आउन लागेको जानकारी दिँदै सुदूरपश्चिमका दर्शक–स्रोतासँग प्रत्यक्ष भेट हुने बताएका छन्। उनले उक्त दिन ‘वाइल्डफायर’ शैलीको ऊर्जाशील प्रस्तुति हुने संकेत गरेका छन्, जसले महोत्सवको माहोल थप तातिने अपेक्षा गरिएको छ।
दुर्गेश थापासँगै सोही दिन आरके थारु, सोनु कुस्मी लगायत अन्य कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको संयुक्त प्रस्तुतिले महोत्सवलाई अझ रंगीन र मनोरञ्जनात्मक बनाउने विश्वास आयोजकको छ।
पर्यटन, संस्कृति, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवमा दैनिक हजारौँ दर्शकको उपस्थिति रहँदै आएको छ। दुर्गेश थापाजस्ता लोकप्रिय पर्फर्मरको सहभागिताले दर्शकको आकर्षण अझ बढ्ने र महोत्सवको उत्सवमय वातावरण थप सशक्त हुने आयोजकको अपेक्षा रहेको छ।