प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव प्रपाला समानुपातिक उम्मेदवारमा सिफारिस
धनगढी , प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हर्कसिंह प्रपाला (हरिश) लाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
नेकपा कैलालीले प्रपालालाई अल्पसंख्यक तथा लोपउन्मुख क्लष्टरबाट समानुपातिक उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको हो। जिल्लाका सबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा आकांक्षा राख्ने उम्मेदवारहरूको नाम टुङ्ग्याउँदै पार्टीले केन्द्रमा सिफारिस पठाएको जनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले उम्मेदवार छनोट तथा सिफारिसको प्रक्रिया तीव्र पारेका छन्। समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएपछि प्रपालाले पार्टीप्रतिको आफ्नो लामो योगदान र त्यागको मूल्याङ्कन भएको भन्दै खुसी व्यक्त गरेका छन्।
करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रपाला पछिल्लो करिब १७ वर्षदेखि एभिन्युज टेलिभिजनको सुदूरपश्चिम ब्युरोमा कार्यरत छन्। उनी तत्कालीन नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल, कैलालीका पूर्वअध्यक्षसमेत हुन्।
