१२ बैशाख २०८३, शनिबार
शब्द,स्वर,भावको संगम: देउडालाई मन्त्रमुग्ध बनाउने सुनिल नेपाली
बिहीबार, पुष १० १५:४९

शब्द,स्वर,भावको संगम: देउडालाई मन्त्रमुग्ध बनाउने सुनिल नेपाली

धनगढी, विवेक नागरी, चलचित्र पत्रकार, कैलाली

सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिको पहिचान बोकेको देउडा गीतलाई शब्द, स्वर र भावको सुन्दर संगममार्फत नयाँ उचाइमा पुर्‍याउने कलाकारका रूपमा सुनिल नेपाली स्थापित हुँदै गएका छन्। परम्पराको गहिरो स्वाद र समय अनुकूल चेतनाको सन्तुलित प्रस्तुतिले उनका देउडा सिर्जनालाई फरक र प्रभावशाली बनाएको छ।देउडा सुदूरपश्चिमको जीवनशैली, संस्कृति र भावनाको प्रतिविम्ब हो। यही लोकसंस्कृतिको विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउने संकल्पसहित देउडा यात्रामा निरन्तर अघि बढिरहेका देउडा गायक हुन् सुनिल नेपालीवि.सं. २०५६ साल मंसिर २६ गते बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–१, चौडाम गाउँमा जन्मिएका सुनिल नेपाली बाल्यकालदेखि नै देउडाको वातावरणमा हुर्किएका हुन्। उनका पिता कटक नेपाली स्वयं पुराना देउडा गायक भएकाले गाउँघरका भाका, देउडा खेल, मेलापात र सांस्कृतिक जमघट सुनिलका लागि दैनिकी जस्तै थिए।

बुवाको स्वर, गाउँको माटो र लोकलयले उनलाई सानैदेखि देउडासँग आत्मीय बनायो।स्वरआमा हरिना देवी नेपालीको अभावले , उनको जीवनलाई अनुशासन र संस्कृतिप्रति सम्मान गर्न सिकायो। आज आमा यस संसारमा नभए पनि उनका सम्झना र आशीर्वाद सुनिलका गीत संगीतमा जीवन्त छन्। उनका धेरै सिर्जनामा माया, पीडा, स्मृति र जीवनका संवेदनशील पक्षहरू गहिरो रूपमा झल्किन्छन्।सुनिल नेपालीका देउडा गीतहरू केवल लय र शब्दको संयोजन होइनन्, ती सुदूरपश्चिमको समाज, प्रेम, बिछोड, आशा र यथार्थका कथा हुन्।“बिस्तारै भनौँला, इशाराले बोला”, “माया लाउ कि जाला”, “हाम्रो केदारेश्वर”, “बैसको पिरती राम्रो” र “मान्नेछौं कि सौराई” जस्ता गीतमार्फत उनले देउडालाई आधुनिक स्वादसँग जोड्ने प्रयास गरेका छन्, तर मौलिकता कहिल्यै गुमाएका छैनन्।‘बिस्तारै भनौँला’ र ‘इशाराले बोला’ जस्ता गीतहरूमा प्रेमको कोमलता र लोकलयको मिठास स्पष्ट झल्किन्छ। यी गीतहरूले शब्दभन्दा बढी भाव बोल्ने देउडाको मौलिक विशेषतालाई जीवन्त बनाएका छन्। त्यसैगरी ‘माया लाउ कि जाला’ ले सुदूरपश्चिमी समाजमा पाइने सरल प्रेमभाव र दुविधालाई स्वाभाविक रूपमा प्रस्तुत गर्छ।

धार्मिक सांस्कृतिक चेतनालाई समेटिएको ‘हाम्रो केदारेश्वर’ ले देउडालाई मनोरञ्जनभन्दा माथि उठाउँदै आस्था र पहिचानसँग जोड्छ। यो गीतमार्फत लोकसंगीत र धार्मिक भावनाबीचको सम्बन्धलाई उनले सशक्त रूपमा उजागर गरेका छन्।युवा मनका भावनालाई समेटेको ‘बैसको पिरती राम्रो’ र सामाजिक सम्बन्ध तथा परम्परागत मूल्य झल्काउने ‘मान्नेछौं कि सौराई’ जस्ता गीतहरूले सुनिल नेपालीलाई बहुआयामिक देउडा कलाकारका रूपमा चिनाएका छन्। उनका सिर्जनाहरू प्रेम, संस्कृति, समाज र जीवनशैलीको यथार्थ चित्रण हुन्।मञ्चमा सुनिल नेपालीको प्रस्तुति दर्शकलाई बाँध्ने खालको हुन्छ। देउडाको लयसँगै दर्शकलाई सहभागी गराउने शैली, दोहोरीमा देखिने सहजता र भावनात्मक अभिव्यक्तिले उनका कार्यक्रमहरू स्मरणीय बन्छन्।

यही कारण स्थानीय मेलादेखि ठूला महोत्सवसम्म उनको उपस्थितिलाई विशेष आकर्षणका रूपमा हेरिन्छ।डिजिटल र आधुनिक संगीतको भीडमा पनि सुनिल नेपाली देउडाको आत्मा जोगाइराख्न प्रतिबद्ध छन्। उनका लागि देउडा केवल गीत होइन । यो पहिचान हो, गौरव हो र पुस्तादेखि पुस्तासम्म सुम्पिनुपर्ने सांस्कृतिक धरोहर हो।गाउँको चौडामदेखि मञ्च र स्टुडियोसम्म आइपुगेको सुनिल नेपालीको कला यात्रा अझै जारी छ। देउडालाई समय अनुसार प्रस्तुत गर्दै सुदूरपश्चिमको आवाज देश–विदेशसम्म पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेका उनी आज देउडा संगीतका प्रभावशाली नाममध्ये एक बन्दै गएका छन्।शब्द, स्वर र भावको संगममार्फत देउडालाई मन्त्रमुग्ध बनाउने सुनिल नेपालीको योगदान सुदूरपश्चिमी लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण आधार बन्ने निश्चित छ।

Sharing is caring!

Latest News

धनगढी उप–महानगरपालिकाका सेवा निवृत्त कर्मचारी काशिराम अर्यालको निधन
बिहीबार, पुष १० १५:४९
प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव प्रपाला समानुपातिक उम्मेदवारमा सिफारिस
बिहीबार, पुष १० १५:४९