धनगढी पश्चिम नेपाल’ रिमेकमा भिम बिसी पुनः चर्चामा(भिडियो सहित)
धनगढी , करिब दुई दशकअघि आफ्नो सांगीतिक यात्राको सुरुवाती चरणमै गाएका पुराना गीतलाई नयाँ स्वादसहित पुनः प्रस्तुत गर्दै चर्चित गायक तथा संगीतकार भिम बिसी फेरि एकपटक चर्चाको केन्द्रमा आएका छन्।
२० वर्षअघि सार्वजनिक भएको ‘धनगढी पश्चिम नेपाल’ गीत त्यतिबेला निकै लोकप्रिय बनेको थियो। सो समयमा प्रविधिको अभावका कारण उनले क्यासेट झोलामा बोकेर बेच्नुपर्ने अवस्था समेत झेलेका थिए। उक्त एल्बममा अन्य देउडा गीतहरू समावेश भए पनि उनले यो गीतलाई मिठो धुन र आधुनिक लयमा प्रस्तुत गरेका थिए। साथै, उनले डोटेली भाषाको पहिलो चलचित्र ‘धन्य मायाजाल’मा समेत आफ्नो गीत समावेश गराएका थिए।
अहिले सोही गीतको रिमेक संस्करण सार्वजनिक भएसँगै श्रोतामाझ निकै रुचाइएको छ। समयअनुसारको संगीत संयोजन, आधुनिक प्रविधिको प्रयोग तथा आकर्षक दृश्य निर्माणले गीतलाई नयाँ पुस्तासमेत आकर्षित गर्न सफल बनाएको छ।
गीतमार्फत सुदूरपश्चिमको संस्कृति, स्थानीय पहिचान र धनगढी क्षेत्रको जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। यसले पुराना श्रोतामा नास्टाल्जिया जगाउने मात्र होइन, नयाँ पुस्तालाई पनि ताजगीको अनुभूति दिलाएको छ।
सामाजिक सञ्जालदेखि विभिन्न डिजिटल प्लेटफर्मसम्म सकारात्मक प्रतिक्रिया पाइरहेको यस रिमेक संस्करणले पुराना सिर्जनालाई नयाँ ढंगले पुनर्जीवित गर्ने सम्भावनालाई समेत उजागर गरेको छ। रिमेक सार्वजनिक भएसँगै उक्त गीत टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ।
