धनगढीमा ‘आबाट आमाका कलाकारलाई दर्शकको भव्य सम्मान
माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘आबाट आमा’ यतिखेर देशभर व्यापक चर्चा र दर्शकको माया बटुल्न सफल भएको छ। आमाको निस्वार्थ माया, त्याग र संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रले दर्शकबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
चलचित्रप्रतिको लोकप्रियता बढ्दै गएपछि चलचित्रको टिम दर्शकसँग प्रत्यक्ष भेटघाट तथा प्रतिक्रिया लिन धनगढी आइपुगेको हो। धनगढी आगमनका क्रममा चलचित्रका मुख्य कलाकार पहल शाह, सिमरन पन्त, उषा उप्रेती, प्रकाश कुँवर तथा निर्देशक चन्द्रपन्तलाई दर्शकहरूले भव्य स्वागत गरेका छन्।
सिनेमा हल परिसरमा आयोजित उक्त भेटघाट कार्यक्रममा दर्शकहरूले कलाकारहरूसँग फोटो खिच्ने, शुभकामना व्यक्त गर्ने तथा चलचित्रबारे आफ्ना प्रतिक्रिया राख्ने अवसर पाएका थिए। आमाको माया, त्याग र संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको ‘आबाट आमा’ ले दर्शकको मन छोएको प्रतिक्रिया सहभागी दर्शकहरूले व्यक्त गरेका छन्।
