सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०८२/८३ को औपचारिक घोषणा
धनगढी । सनिश्चर म्युजिक कम्पनी प्रा.लि.को आयोजनामा ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार’ रियालिटी शो २०८२/८३ आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका प्रतिभाशाली युवा–युवतीलाई राष्ट्रिय स्तरको मञ्च प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
गाउँ–जिल्लामा लुकेर रहेका गायन तथा नृत्यका प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई व्यावसायिक अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ। साथै, नेपाली मौलिक संस्कृति र आधुनिक मनोरञ्जनको सशक्त संयोजनमार्फत दर्शकमाझ नयाँ रियालिटी शो प्रस्तुत गर्ने तयारी गरिएको छ।
कार्यक्रम टिम
कार्यक्रमको कम्पनी प्रबन्ध निर्देशकमा सुदिप जोशी रहेका छन् भने कार्यक्रम निर्देशक कृष्ण जोशी रहनेछन्। त्यसैगरी कार्यक्रम व्यवस्थापकमा सुशिल रौचाल, गीतकार नवराज कालिकोटे, उद्घोषक निखिल आचार्य, साउण्ड इन्जिनियर अशोक चौधरी, मिक्सिङ इन्जिनियर रविन मगर तथा डाइरेक्टर अफ फोटोग्राफी दीपक गिरी रहेका छन्।
निर्णायक मण्डल
निर्णायक मण्डलमा जेम्स जोशी, सरोज प्रजा, कृष्ण भारद्वाज र लावण्य चक्रवर्ती रहेका छन्।
त्यसैगरी जजको भूमिकामा कविता सुनार, समीर परियार र सुशिल रौचाल रहनेछन्।
कार्यक्रम संरचना
कार्यक्रममा गायन र नृत्य गरी दुई विधा समावेश गरिनेछ। गायनतर्फ १२ र नृत्यतर्फ १२ गरी जम्मा २४ एपिसोड निर्माण गरिने आयोजकले जनाएको छ। ग्राण्ड फिनाले २०८३ असोज १ गते आयोजना गरिनेछ।
अडिसन मिति
अडिसन फाराम २०८२ फागुन १ गतेदेखि खुल्नेछ भने २०८२ फागुन ३ गतेदेखि eSewa मार्फत फाराम भर्न सकिनेछ। अडिसन प्रक्रिया २०८३ वैशाख ५ गतेदेखि सुरु हुने जनाइएको छ।
पुरस्कार विवरण
प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
प्रथम हुनेले नगद रु २ लाख, रु ४ लाख बराबरको म्युजिक भिडियो/अडियो कन्ट्र्याक्ट तथा थाइल्याण्ड, सिङ्गापुर र मलेसिया टुर प्राप्त गर्नेछन्।
दोस्रो हुनेले रु १ लाख ५० हजार नगद र रु २ लाख बराबरको अडियो/म्युजिक भिडियो कन्ट्र्याक्ट पाउनेछन्।
तेस्रो हुनेले रु ५० हजार नगद र रु १ लाख बराबरको कन्ट्र्याक्ट प्राप्त गर्नेछन्।
चौथो हुनेलाई रु ३५ हजार नगद र रु ५० हजार बराबरको कन्ट्र्याक्ट दिइनेछ भने पाँचौँ हुनेले रु ५ हजार नगद र रु २५ हजार बराबरको अडियो/म्युजिक भिडियो कन्ट्र्याक्ट प्राप्त गर्नेछन्।
आयोजकका अनुसार ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार’ ले सुदूर क्षेत्रका नवप्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।
