धनगढीमा परिश्रमी ग्रीनफिल्ड रेस्टुरेन्ट तथा रिसोर्ट’ सञ्चालनमा
धनगढी , परिश्रमी बहुउद्देश्य सहकारी संस्था लिमिटेड धनगढीले ‘परिश्रमी ग्रीनफिल्ड रेस्टुरेन्ट तथा रिसोर्ट’ सञ्चालनमा ल्याएको छ। शनिबार कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले उक्त रेस्टुरेन्ट तथा रिसोर्टको उद्घाटन गरेका हुन्।
धनगढी उपमहानगरपालिका–३ मा सञ्चालनमा आएको रेस्टुरेन्ट हरियाली वातावरणसहित आकर्षक संरचनामा तयार गरिएको छ। यहाँ पोखरी निर्माण गरिएको छ जहाँ बोटिङ र फिसिङ गर्न सकिने सुविधा उपलब्ध गराइएको सञ्चालकले बताएका छन्। साथै पारिवारिक तथा समूहगत रूपमा बस्न मिल्ने कटेजहरू पनि निर्माण गरिएको छ।
रेस्टुरेन्टमा विशेषगरी माछाका विभिन्न परिकारसहित अन्य स्वादिष्ट खाना परिकार उपलब्ध हुने सञ्चालकले जानकारी दिएका छन्।
सहकारीका संस्थापक अध्यक्ष धर्मराज जोशीका अनुसार यो परियोजना नयाँ अभियानका रूपमा सुरु गरिएको हो। यसले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै शान्त र पारिवारिक वातावरणमा घुमफिर तथा मनोरञ्जनको अवसर प्रदान गर्ने विश्वास लिइएको उनले बताए।
उद्घाटन समारोहमा बोल्दै कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले सहकारी संस्थाले रेस्टुरेन्ट तथा रिसोर्ट सञ्चालनमा ल्याउनु नौलो र सकारात्मक पहल भएको बताए। ‘परिश्रमी’ नामले जस्तै मेहनती व्यक्तिहरूको सहकार्यबाट यस्तो परियोजना सुरु हुनु प्रशंसनीय रहेको उनले बताए। उनले आफू पनि परिश्रमी बहुउद्देश्य सहकारी संस्थामा सेयर लिने प्रतिबद्धता समेत व्यक्त गरे।
