महासचिवमा आङ दावा शेर्पाको दाबी, सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको अधिवेशनको माहोल तातिँदै
धनगढी,सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको जेठ २२ र २३ गते आयोजना हुन गइरहेको १८ औँ साधारण सभा तथा ९ औँ अधिवेशनको माहोल यतिबेला तातिँदै गएको छ। अधिवेशन नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसैबीच वर्तमान उपमहासचिव (नीतिगत) आङ दावा शेर्पाले महासचिव पदमा उम्मेदवारी दाबी गरेका छन्।शेर्पाले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै निर्माण व्यवसायीहरूको हकहित, संस्थागत सुदृढीकरण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि आफू महासचिव पदमा अघि बढेको बताएका छन्। लामो समयदेखि निर्माण व्यवसाय क्षेत्रमा सक्रिय रहेका उनी व्यवसायीहरूको साझा आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका हुन्।हिमाल कन्स्ट्रक्सन का सञ्चालकसमेत रहेका शेर्पा निर्माण व्यवसाय क्षेत्रमा अनुभवी र सक्रिय व्यवसायीका रूपमा परिचित छन्। उनले निर्माण व्यवसायी सङ्घमा विभिन्न जिम्मेवारी सम्हाल्दै संस्थागत अनुभवसमेत हासिल गरेका छन्। २०६५ सालमा सम्पन्न सङ्घको सातौँ अधिवेशनबाट उनी सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए। त्यसपछि संस्थागत गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका शेर्पा २०७९ सालमा सम्पन्न आठौँ महाधिवेशनबाट उपमहासचिव (नीतिगत) पदमा विजयी भएका थिए।धनगढी उपमहानगरपालिका–२ निवासी शेर्पाले सङ्घभित्रको आफ्नो लामो अनुभव, व्यवसायिक समझदारी तथा निर्माण क्षेत्रका समस्या समाधानमा भूमिका खेल्ने उद्देश्यले महासचिव पदमा उम्मेदवारी दाबी गरेको जनाएका छन्। निर्माण व्यवसाय क्षेत्रमा देखिएका चुनौती, निर्माण सामग्रीको मूल्यवृद्धि, व्यवसायीहरूको भुक्तानी समस्या, नीतिगत जटिलता लगायतका विषयलाई प्राथमिकताका साथ उठाउने उनको भनाइ छ।निर्माण व्यवसायीहरूबीच समन्वय, पारदर्शिता र संस्थागत एकतालाई मजबुत बनाउँदै व्यवसायीहरूको अधिकार संरक्षणका लागि आफू प्रतिबद्ध रहेको शेर्पाले उल्लेख गरेका छन्। साथै उनले नयाँ पुस्ताका व्यवसायीलाई सङ्घसँग जोड्ने, व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रदेशस्तरमा सङ्घको भूमिकालाई अझ प्रभावकारी बनाउने योजना पनि अघि सारेका छन्।उनको उम्मेदवारी घोषणापछि निर्माण व्यवसायी वृत्तमा चुनावी चर्चा थप बढेको छ। महासचिव पदका लागि प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ भने अधिवेशनलाई लिएर विभिन्न समूह तथा व्यवसायीहरूबीच आन्तरिक छलफलसमेत तीव्र बनेको छ।आगामी अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ। सङ्घको भावी नेतृत्वले निर्माण व्यवसायीहरूको अधिकार, व्यवसायिक सुरक्षा, नीतिगत सुधार तथा निर्माण क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। महासचिव पदमा आङ दावा शेर्पाको उम्मेदवारी घोषणासँगै चुनावी माहोल अझ तातेको देखिएको छ।
