कैलाली फर्निचर तथा फिनिसिङ व्यवसायी सङ्घको अध्यक्षमा कमल पाण्डेय
धनगढी , कैलाली फर्निचर तथा फिनिसिङ व्यवसायी सङ्घको अध्यक्षमा कमल पाण्डेय चयन भएका छन्। शनिबार सम्पन्न सङ्घको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट कमल पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष द्वयमा केशव सिंह र पूर्ण केसी चयन भएका छन् भने सचिवमा चेतराज फुलारा, सहसचिवमा थानेश्वर जोशी तथा कोषाध्यक्षमा ज्ञानेन्द्र आचार्य चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा पासाङ डिक्की शेर्पा, महेश भट्ट, नयन खड्का, कृष्ण कठायत, प्रेम चौधरी, रमेश बिष्ट र प्रकाश सिंह चयन भएका छन्।
अधिवेशनको उद्घाटन कार्यक्रममा सङ्घले दुई जनालाई सम्मान गरेको थियो। संस्थाको हकहित तथा संस्थापक अध्यक्षको भूमिकामा योगदान पुर्याएको भन्दै वसन्तराज जोशीलाई सम्मान गरिएको थियो भने सफल तथा उत्कृष्ट व्यवसायीका रूपमा जनक कुमार केसीलाई सम्मान गरिएको हो।
नवनिर्वाचित अध्यक्ष पाण्डेयले संस्थालाई अझ बलियो बनाउँदै व्यवसायिक हकहितका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले फर्निचर क्षेत्रमा कामदार अभावका कारण व्यवसायीहरूले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै आवश्यक पहल गरिने बताए।
कार्यक्रमको अध्यक्षता विष्णुदत्त बडुले गर्नुभएको थियो भने फर्निचर तथा फिनिसिङ व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष युवराज पौडेयल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
त्यस्तै कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझा, हार्डवेयर व्यवसायी सङ्घका अध्यक्ष कुबेर शाही लगायत विभिन्न वस्तुगत सङ्घका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
हाल सङ्घमा ८० जना व्यवसायी आबद्ध रहेका छन्। २०७६ सालमा संस्था स्थापना भएको पूर्व सचिव जयराम चौधरीले जानकारी दिएका छन्।
