३१ जेष्ठ २०८३, आईतवार
विद्यार्थीहरूको रोजाइमा ‘रोल नम्बर १’, धनगढीमा दर्शकको आकर्षण बढ्दो
आईतवार, जेष्ठ ३१ ०९:५९

विद्यार्थीहरूको रोजाइमा ‘रोल नम्बर १’, धनगढीमा दर्शकको आकर्षण बढ्दो

धनगढी । पछिल्लो समय निकै चर्चामा रहेको नेपाली चलचित्र ‘रोल नम्बर १’ विद्यार्थीहरूमाझ विशेष लोकप्रिय बन्दै गएको छ। धनगढीस्थित एस टि एस सिनेमा हल मा चलचित्र हेर्न आउने विद्यार्थी दर्शकहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको सिनेमा हलका म्यानेजर योगेन्द्र नायक ले बताएका छन्।शिक्षा क्षेत्रको विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘रोल नम्बर १’ ले देशभर नै राम्रो चर्चा बटुलिरहेको छ। विद्यार्थी जीवनका विभिन्न पक्ष, पढाइ–लेखाइ, अतिरिक्त क्रियाकलाप, सपना, चुनौती र सङ्घर्षका कथाहरूलाई यथार्थपरक ढङ्गले पर्दामा उतारिएकाले चलचित्रले विद्यार्थी तथा अभिभावक दुवैको मन जित्न सफल भएको छ।चलचित्रले केवल मनोरञ्जन मात्र नभई शिक्षा, अनुशासन, प्रतिस्पर्धा र सफलताका लागि आवश्यक मेहनतबारे सकारात्मक सन्देश प्रवाह गरेको दर्शकहरूको प्रतिक्रिया छ। यही कारणले विद्यालय तथा कलेजका विद्यार्थीहरू समूह–समूहमा चलचित्र हेर्न सिनेमा हल पुगिरहेका छन्।धनगढीको एस टि एस सिनेमा हल व्यवस्थापनका अनुसार चलचित्र प्रदर्शन सुरु भएयता विद्यार्थी दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ। शिक्षा र प्रेरणालाई मुख्य विषयवस्तु बनाइएको ‘रोल नम्बर १’ अहिले विद्यार्थीहरूको पहिलो रोजाइको चलचित्र बनेको देखिन्छ।सिनेमाको नियमित टिकट दर ३०० रुपैयाँ रहे पनि विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छुटको व्यवस्था गरिएको छ। विद्यार्थीहरूले परिचयपत्रका आधारमा २०० रुपैयाँमै टिकट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको सिनेमा हल व्यवस्थापनले जनाएको छ।त्यस्तै, प्याब्सन नगर अध्यक्ष तथा डेलाइट स्कुलका सञ्चालक ध्रुव सिंह ले चलचित्र ‘रोल नम्बर १’ विद्यार्थीहरूका लागि निकै प्रेरणादायी र सन्देशमूलक बनेको बताएका छन्।उनले चलचित्रले विद्यार्थीहरूको रुचि, प्रतिभा, अतिरिक्त क्रियाकलाप तथा अध्ययन–अध्यापनसँग सम्बन्धित विभिन्न पक्षलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे। “फिल्म एकदमै राम्रो बनेको छ। यसले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापको महत्वबारे पनि सिकाउने काम गरेको छ,” उनले भने।सिंहले समाजमा जति नै शिक्षित भए पनि चलचित्रमार्फत प्रस्तुत गरिएका सकारात्मक तथा सन्देशमूलक विषयहरूलाई आत्मसात् गर्न आवश्यक रहेको बताए। उनका अनुसार ‘रोल नम्बर १’ ले शिक्षा, अनुशासन, मेहनत र लक्ष्यप्राप्तिका लागि आवश्यक सङ्घर्षलाई यथार्थपरक रूपमा चित्रण गर्दै विद्यार्थी तथा अभिभावकलाई सकारात्मक सन्देश दिएको छ।उनले यस्ता खालका चलचित्रले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै प्रेरणा र जीवनोपयोगी शिक्षा प्रदान गर्ने भएकाले विद्यालय तहमा समेत प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे।

Sharing is caring!

Latest News

छ वर्षदेखि थन्किएको डोटेली चलचित्र ‘नन्दी’ : गीत हिट, फिल्म अझै रिलिजको पर्खाइमा
आईतवार, जेष्ठ ३१ ०९:५९