मन्त्रीको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिप्रति निर्माण व्यवसायी संघ कैलालीको आपत्ति
धनगढी । निर्माण व्यवसायी संघ कैलालीले नेपाल सरकारका भौतिक पूर्वाधारसँग सम्बन्धित जिम्मेवार मन्त्रीबाट निर्माण व्यवसायीहरूले काम नगरे “खुट्टा भाँच्ने” भन्ने आशयको अभिव्यक्ति आएको विषयप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन तथा संवैधानिक मर्यादाभित्र सञ्चालन हुने राज्य व्यवस्थामा कुनै पनि मन्त्री वा सार्वजनिक पदाधिकारीबाट हिंसात्मक, धम्कीपूर्ण र असहिष्णु अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र निन्दनीय भएको जनाएको छ।
संघका अनुसार यस्ता अभिव्यक्तिले राज्यको शक्ति कानुनभन्दा माथि रहेको गलत सन्देश प्रवाह गर्नुका साथै निजी क्षेत्र र सरकारबीचको विश्वासमा समेत नकारात्मक असर पार्न सक्छ।
विज्ञप्तिमा निर्माण व्यवसायीहरू कुनै व्यक्तिको आदेशमा नभई कानुन, सम्झौता तथा राज्यले निर्धारण गरेका प्रक्रिया र मापदण्डअनुसार काम गर्ने वैधानिक पक्ष भएको उल्लेख गरिएको छ। कार्यसम्पादनमा कमजोरी भए कानुनी कारबाहीका पर्याप्त संयन्त्र विद्यमान रहेकाले सार्वजनिक रूपमा शारीरिक क्षतिको धम्की दिने शैली स्वीकार्य नहुने संघको भनाइ छ।
संघले निर्माण क्षेत्रले वर्षौंदेखि भुक्तानी समस्या, बजेट अभाव, नीतिगत अस्थिरता, मूल्यवृद्धि, प्रशासनिक ढिलाइ तथा प्रक्रियागत जटिलताजस्ता समस्या भोग्दै आएको उल्लेख गर्दै यस्ता संरचनात्मक समस्याको समाधान नगरी सम्पूर्ण दोष निर्माण व्यवसायीमाथि थोपर्ने प्रवृत्ति जिम्मेवार नेतृत्वको परिचायक हुन नसक्ने जनाएको छ।
निर्माण व्यवसायी संघ कैलालीले सम्बन्धित मन्त्रीबाट उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा स्पष्ट धारणा र आवश्यक परे स्पष्टीकरण दिन, निर्माण क्षेत्रलाई साझेदारका रूपमा व्यवहार गर्न, वास्तविक समस्या समाधानका लागि उच्चस्तरीय संवाद सुरु गर्न तथा सार्वजनिक पदको गरिमा र संवैधानिक मर्यादा विपरीतका अभिव्यक्ति दोहोरिन नदिन सरकार गम्भीर बन्न माग गरेको छ।
संघले आफू जिम्मेवार, पारदर्शी र गुणस्तरीय निर्माण कार्यप्रति प्रतिबद्ध रहँदै राज्यसँग सहकार्यमा विश्वास गर्ने बताउँदै निजी क्षेत्रलाई भय, दबाब वा धम्कीको वातावरणमा राख्ने कुनै पनि प्रवृत्तिप्रति स्पष्ट असहमति र विरोध जनाएको छ।
