२४ असार २०८३, बुधबार
भिजिट नेपाल २०८५ अभियानमा क्यानाडाबासी नेपालीलाई सहभागी हुन नरबहादुर टन्डनको आह्वान
बुधबार, असार २४ १८:०१

भिजिट नेपाल २०८५ अभियानमा क्यानाडाबासी नेपालीलाई सहभागी हुन नरबहादुर टन्डनको आह्वान

धनगढी,पूर्व पर्यटन दूत (क्यानाडा) तथा Canada Nepal Tourism, Culture & Trade का अध्यक्ष नरबहादुर टन्डनले भिजिट नेपाल २०८५ अभियानलाई सफल बनाउन क्यानाडामा रहेका नेपाली समुदायलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।

टन्डनले एक सार्वजनिक अपिल जारी गर्दै विगत लामो समयदेखि उत्तर अमेरिकाबाट नेपालको पर्यटन, कला, संस्कृति तथा राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको उल्लेख गरेका छन्। उनले “मिनी नेपाल” अभियान, बहुसांस्कृतिक कार्यक्रम तथा विभिन्न सामुदायिक गतिविधिमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको बताएका छन्।

उनका अनुसार भिजिट नेपाल २०२० अभियानका क्रममा क्यानाडाको मिसिसाउगामा सञ्चालन हुने १० वटा सार्वजनिक बसमा नेपालको पर्यटनसम्बन्धी प्रचार सामग्री राखिएको थियो। त्यस्तै, क्यानाडा र अमेरिकाका विभिन्न स्थानमा प्रचारात्मक स्टिकर अभियान सञ्चालन गर्नुका साथै आफ्नै व्यक्तिगत स्रोत र साधन प्रयोग गरी बेलायत, आइसल्यान्ड तथा उत्तर अमेरिकाका विभिन्न क्षेत्रहरूमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको थियो।

टन्डनले ती अभियानहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपालको समृद्धि, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको उल्लेख गरेका छन्। अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण नेपाली समुदायप्रति उनले आभार व्यक्त गरेका छन्।

उनले क्यानाडाभर आयोजना हुने नेपाली सांस्कृतिक मेला, महोत्सव, पिकनिक, खेलकुद, धार्मिक तथा सामाजिक कार्यक्रमहरू नेपालको भाषा, कला, संस्कृति र पर्यटनलाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रममा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। हिमालयन मेला, ब्राम्पटन नेपाली मेला, क्याल्गरी, ब्रिटिस कोलम्बिया, ओटावा लगायत विभिन्न शहरमा आयोजना हुने कार्यक्रमहरूलाई पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्नेमा उनले जोड दिएका छन्।

टन्डनले आगामी दिनमा पनि नेपालको पर्यटन, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचानलाई थप सशक्त बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै भिजिट नेपाल २०८५ अभियानलाई सफल बनाउन क्यानाडामा रहेका सम्पूर्ण नेपालीको साथ, सहयोग, सुझाव र सक्रिय सहभागिताको अपेक्षा गरेका छन्।

उनले “समृद्ध नेपालको आधार–पर्यटनको विस्तार” भन्ने साझा उद्देश्यलाई सफल बनाउन सबै नेपाली एकजुट भएर अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

Sharing is caring!

प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ साउन ८ र ९ गते धनगढीमा हुने
बुधबार, असार २४ १८:०१