प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ साउन ८ र ९ गते धनगढीमा हुने
धनगढी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आगामी साउन ८ र ९ गते धनगढीमा आयोजना हुने भएको छ।प्रतिष्ठानले धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता एकल लोकदोहोरी गायन विधामा सञ्चालन गरिनेछ, जसमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कलाकारले सहभागिता जनाउन सक्नेछन्।प्रदेश अध्यक्ष भीम बिष्टले प्रतियोगितामा गायक तथा गायिकाले एकल रूपमा सहभागिता जनाउन पाउने जानकारी दिए। उनका अनुसार प्रतियोगिताका लागि आवश्यक बाद्यवादन तथा कोरस आयोजककै तर्फबाट उपलब्ध गराइनेछ। सबै उमेर समूहका इच्छुक कलाकारले प्रतियोगितामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रस्तुति दिए पनि विभिन्न कारणले स्थान हासिल गर्न नसकेका प्रतिभावान कलाकारलाई प्रोत्साहन गर्न विशेष पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष बिष्टले बताए।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको विशेष उपस्थिति रहने तयारी गरिएको आयोजकले जनाएको छ।प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारले एक हजार रुपैयाँ दर्ता शुल्क तिरी परिचय खुल्ने कागजातसहित आवेदन दर्ता गर्न सक्नेछन्।अध्यक्ष बिष्टले लोकदोहोरी साँझहरूले नेपाली लोकगीतको संरक्षण, प्रवर्द्धन र कलाकारलाई व्यावसायिक रूपमा अघि बढ्न महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ प्रतिभा खोजी र प्रोत्साहनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।कार्यक्रमको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने सह–आयोजकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कैलाली र कञ्चनपुर शाखा रहेका छन्।पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता सांस्कृतिक गतिविधिले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र लोकसंगीतको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
