चलचित्र विकास तथा नियमन सम्बन्धी दुईदिने अन्तरक्रिया सम्पन्न
धनगढी। चलचित्र क्षेत्रका विशेषज्ञहरूसँग चलचित्र विकास तथा नियमन सम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार सङ्घ कैलालीको सहकार्यमा असार १६ र १७ गते सञ्चालन भएको उक्त कार्यक्रममा चलचित्र क्षेत्रका विविध विषयमा गहन छलफल तथा विशेष संवाद गरिएको थियो।कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले चलचित्र क्षेत्रको विकास, संरक्षण तथा प्रभावकारी नियमनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सुदूरपश्चिमका कला, संस्कृति, भाषा, इतिहास र पर्यटनलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो।दुई दिनसम्म चलेको अन्तरक्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित नीति तथा कानुनी व्यवस्था, चलचित्र उत्पादन, वितरण, प्रवर्द्धन, कलाकारको हकहित, प्रदेशमा चलचित्र उद्योगको सम्भावना तथा चलचित्रमैत्री वातावरण निर्माणका विषयमा विशेषज्ञहरूबीच विस्तृत छलफल भएको थियो।कार्यक्रममा नेपाल कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष उदय सुब्बा, चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी लगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।सहभागीहरूले सुदूरपश्चिम चलचित्र निर्माणका लागि कथा, संस्कृति, प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तव्यका हिसाबले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै स्थानीय कथावस्तुलाई चलचित्रमार्फत उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले चलचित्र क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति, प्रभावकारी कानुनी व्यवस्था, आवश्यक बजेट, पूर्वाधार विकास तथा सरकार र निजी क्षेत्रबीच सुदृढ समन्वय अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका थिए।कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवस्थित नियमनका लागि आवश्यक नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
